नवराज घिमिरे
काठमाडौं, ४ कार्तिक ।
संसद्का दुई ठूला दल नेपाली काङ्ग्रेस र नेकपा एमालेले ०८४ सम्मको लागि भनेर बनाएको गठबन्धन सरकारको तीन महिनामा नै सर्वाधिक आलोचित मात्र बन्न पुगेन, निकम्मा पनि सावित भयोे । जनतालाई यस समीकरणमा खास्सै विश्वास त थिएन, तैपनि दुई ठूला दलको ऐतिहासिक समीकरण भएकोले लाजगालका लागि भए पनि केही महत्वपूर्ण कामको थालनीचाहिँ अवश्य होला भन्ने सोचेका थिए तर आम जनताको आशा र अपेक्षाविपरीत सरकारले आफूलाई लाचार छाया सावित गरिदियो । यसले ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उक्तिलाई चरितार्थ गरिदियो । सरकारको यस तीन महिने कालले यो सरकार काम गर्नका लागि होइन, बरू भ्रष्टाचारका ठूला फाइलहरू बन्द गर्न मात्र अप्राकृतिक रूपमा बनेको भनेर सिद्ध गरिदियो ।
मुलुकमा सुशासन कायम गर्ने, भ्रष्टाचार र बेथितिको अन्त्य गर्ने तथा संविधान संशोधन गर्ने नारा दिएर बनेको सरकारका तीन महिनालाई समीक्षा गर्दा जनताले अब पनि यस सरकारबाट कुनै कुराको पनि अपेक्षा नगरे हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नो पुरानो स्वभावमा कुनै परिवर्तन आएको देखिन्न । उनी देश विकासका खाका कोर्नमा भन्दा अरूलाई व्यङ्ग्य प्रहार गर्नुमा नै आफ्नो पुरुषार्थ ठान्दछन् । अरू देशका प्रधानमन्त्रीहरू राष्ट्र संघमा सम्बोधन गरेका भोलिपल्ट आ–आफ्नो देश फर्केर जनताका सुख दुःखमा साथ दिएको देखियो तर हाम्रा प्रधानमन्त्रीचाहिँ देशमा भएको अकल्पनीय र दुःखद् घटना सुनेर पनि अलिकति पनि संवेदनशीलता नदेखाई हनिमुन मनाउन गएका जोडीझैं अमेरिकाका विभिन्न शहरहरूको विचरण गर्नमा रमाइरहे । बल्लबल्ल फर्केका उनले विमानस्थलमा नै पत्रकारले सोधेको प्रश्नको उट्पट्याङ जवाफ दिएर आफ्नो असंयमित स्वरूप देखाइदिए ।
प्रधानमन्त्री अमेरिका भ्रमणमा रहँदा नेपालमा बाढी पहिरोले ठूलो मात्रामा धनजनको क्षति भयो । बाढी पहिरोको आवश्यक पूर्वतयारी नगरेको भन्दै सरकारको सर्वत्र आलोचना भयो । सरकारले आफ्नो उपस्थिति संघीय राजधानी काठमाडौंमा समेत देखाउन सकेन । मौसम पूर्वअनुमान महाशाखाले सम्भावित जोखिमको पूर्व सूचना दिँदासमेत जुन किसिमको पूर्व तयारी हुनुपथ्र्यो त्यस किसिमको तयारी गर्न नसकेको आरोप सरकारमाथि लाग्यो । तर प्रधानमन्त्रीले देशवासीसँग क्षमा माग्नुको साटो ‘मौसम विभागले पानी पर्ने भने पनि कहाँ कहाँ बाढी–पहिरो जान्छ भनेर नभनेको’ भनेर अपरिपक्व र असंवेदनशील जवाफ दिएर जग हँसाए ।
प्रचण्ड नेतृत्वको अघिल्लो सरकारलाई काम गर्न नसकेको आरोप लगाएर काङ्ग्रेससँग मिलेर बनाएको झण्डै दुई तिहाइको सरकारले गफ गर्नबाहेक झन केही गर्न सकेन । सरकारले महत्वपूर्ण तीन महिना देशविदेश घुमेर र अरूलाई कटाक्ष गरेरै बिताए । अरूलाई आरोप लगाउन मात्र सजलो हुँदोरहेछ, देश र जनताका पक्षमा काम गर्न त भिजन र काम गर्ने इच्छाशक्ति चाहिने रहेछ भनेर उनले फेरि पनि प्रमाणित गरिदिए । हुन त यसअघिका कार्यकाल पनि ओलीले गफ गरेरै बिताएका थिए । उनले देशले सम्झनयोग्य त केही गरेनन् बरू बिर्सनयोग्य केही निर्णयहरू भने गर्न भ्याएका थिए ।
प्रधानमन्त्री ओलीको अहंकारको आयतन बड्दै जाँदा सरकार गठन भएको तीन महिनामा नै सरकार ढल्ने बजार हल्ला चल्न थालिसकेको छ । प्रधानमन्त्री स्वयम्ले दिएको स्पष्टिकरणको अन्तर्यमा पनि उनको कुर्सी हल्लिएर आत्तिएको आभास पाइन्छ । जुन मान्छे डरछेरुवा हुन्छ, ऊ ‘मलाई मर्ने डर छैन’ भन्ने गर्छ । जुन कर्मचारीले आफू कार्यरत अफिसले उसलाई निकाल्दै छ भन्ने थाहा पाउँछ, ऊ ‘म राजीनामा दिन्छु होला, यहाँ काम गर्ने मन छैन’ भन्न थाल्छ । त्यस्तै जुन प्रधानमन्त्रीलाई चाँडै आफ्नो पद जाला कि भन्ने डर लाग्छ, तब ऊ ‘आफ्नो सरकारको आयु लामो भएको र खरानीको डल्लोजस्तो ठानेर कसैले फुटाउन नसक्ने’जस्ता वाक्य बोलेर भ्रम छर्न थाल्छ ।
बरू अहिले ओलीको कार्यशैली, अभिव्यक्ति र भ्रष्टचार आरोपित व्यपारीहरूसँगको साँठगाठ देखेर वेटिङ प्रधानमन्त्रीका रूपमा ठानिएका शेरबहादुर देउवालाई र मीनबहादुरसँग करोडौंको जग्गा प्राप्त गरेको विषयमा काङ्ग्रेसीहरूको अभिव्यक्ति सुनेर तथा प्रचण्डको गतिविधि हेरेर ओलीलाई डरलागेको हुन सक्छ । र, देउवा र ओली एकअर्काको गतिविधिबाट त्रस्त बनेका हुन सक्छन् । यस पृष्ठभूमिमा देउवालाई आश्वस्त पार्दै आफ्नो आयु लम्ब्याउन ओली ‘दुई वर्षपछि देउवालाई सहजै सत्ता सुम्पने’ अभिव्यक्ति दिन थालेका छन् । यस अभिव्यक्तिले उनीहरूबीच कहीं न कहीं केही गडबडी भइरहेको सङ्केत गर्दछ ।
र, काङ्ग्रेसलाई थप आश्वस्त पार्न र काङ्ग्रेसभित्रका केही व्यक्तिका लागि आँखाको कसिंगर बनेका रवि लामिछानेलाई सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धित मुद्दामा पक्राउ गर्न प्रहरीलाई आदेश दिएको देखिन्छ ।
कुनै बेला काङ्ग्रेसीजनले रविलाई विभिन्न आरोप लगाउँदा ओलीले रविलाई दशैंको खसी जस्तै गरी संरक्षण गरेर राखेका थिए । दशैंको खसीलाई जति माया गरेर पाले पनि उसको आयु अष्ठमी नआउञ्जेलसम्म मात्र हो । रविका लागि गत शुक्रबार अष्ठमी सावित भयो । र, काङ्ग्रेसी कुल देवता खुसी पार्न रविको बलि दिइयो । सहकारी प्रकरण त सुनाउने कुरा मात्र हो । कीर्तिपुर काण्ड, गिरीबन्धु टी इस्टेट, ललितानिवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड, वाइड बडी काण्ड, टेरामक्स काण्ड, यती–ओम्नीलगायतका ठूला काण्डहरू ओझेलमा पार्न र विषयअन्तर गर्न रविलाई बलिको बोको बनाइएको कुरा बुझ्न गाह्रो छैन ।
‘सहकारीमा प्रत्यक्ष नजोडिएका रवि समातिए, जोडिएका काङ्ग्रेस उपसभापति गुरुङ र लेखा समिति सभापति पोखरेलपत्नी अनुसन्धानबाहिरै’ शीर्षक राखेर शनिवार प्रकाशित नयाँ पत्रिकाले समाचार विश्लेषण प्रकाशित गरेको छ । यही समाचारको आधारमा पनि के भन्न सकिन्छ भने रविलाई सुशासन कायम राख्न, सहकारी पीडितलाई न्याय दिलाउन होइन, कसैलाई खुसी बनाउएर सत्ताको आयु लम्ब्याउन र चुनौतीका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको अस्तित्वलाई धूलिसात पार्न गरिएको प्रपञ्च मात्र हो । तर यो खेल प्रधानमन्त्री ओलीलाई र सिङ्गो एमाले पार्टीका लागि प्रत्युत्पादक हुने निश्चित छ । शनिबार काठमाडौंको माइतीघरमा र पोखरामा स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएको रविसमर्थकहरूको भीडले पनि केही न केही सङ्केत त गरेकै हुनुपर्छ । राजनीतिले कोल्टे फेर्दा फाइल खोल्ने पालो रविको नआउला भन्न सकिन्न ।