‘नेवाः संस्कार व उकिया विधि’ नेपाली र अङ्ग्रेजीमा पनि प्रकाशित

नेवारहरूले जीवनमा गर्नु पर्ने विविध संस्कारहरूलाई मार्गदर्शन प्रदान गर्न तथा एकरूपता ल्याउने हेतुले स्व. बलदेव जुजूद्वारा नेपाल भाषामा लेखिएको पुस्तक ‘नेवाः संस्कार व उकिया विधि’लाई दया फाउन्डेसनले नेपाली र अंग्रेजी भाषामा उल्था गर्न लगाई प्रकाशन गरेको छ ।

साथै दया फाउन्डेसनले संस्कृतिका क्षेत्रमा गरेका विभिन्न गतिविधिहरूको बारेमा प्रकाशित गरिएको स्मारिका पुस्तक ‘कल्चर थ्रु दि आइज अफ युथ’ पुस्तकको विमोचन काठमाडौ महानगरपालिकाका उप मेयर सुनिता डंगोलले आज एक समारोहका बीच गरिन् ।

‘नेवाः संस्कार व उकिया विधि’ पुस्तकको नेपालीमा अनुवाद सञ्जय शर्मा राजोपाध्याय् र अङ्ग्रेजी भाषामा अनुवाद आभास धरनन्द राजोपाध्यायले गरेका थिए ।

नेवा संस्कृतिअनुसार समय् बजी पनि सजाएर राखिएको समारोहमा नेपालका लागि नर्वेका राजदूत महामहिम टोरून द्रमदल, काठमाडौ महानगरपालिका वडा नं १८ का अध्यक्ष न्हुच्छे काजी महर्जन, वडा नं १९ का अध्यक्ष राजेशकुमार श्रेष्ठ, वडा नं २० का अध्यक्ष राजेन्द्र मानन्धर, वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, वडा नं २३ का अध्यक्ष मचाराजा महर्जन, त्रिभुवन विश्वविद्यालयका उप कुलपति तथा जापानका लागि नेपाली पूर्व राजदूत केदारभक्त माथेमा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथिको आशनबाट बोल्दै काठमाडौं महानगरपालिकाका उप मेयर सुनिता डंगोलले–नेवा संस्कृति एक सम्वृद्ध संस्कृति भएको र आज विमोचित पुस्तकले देश विदेशका नेवारहरूको संस्कारमा एकरूपता ल्याई नेवारहरूलाई एकीकृत गर्न सहयोग पुर्याउने कुरामा जोड दिइन् ।

दया फाउन्डेसनका संस्थापक अध्यक्ष निभा माथेमा प्रधानले विमोचित पुस्तकले नेवारहरूको संस्कारमा मार्गदर्शन गर्नुका साथै दया फाउन्डेसनका समाजसेवी स्व.दयाराम भक्त माथेमाकै पाइला पच्छ्याई लोक उपयोगी सामाजिक कार्यहरू गर्दै जाने कुरा व्यक्त गरिन् ।

दया फाउण्डेशन समाजसेवी स्व.दयाराम भक्त माथेमाको स्मृतिमा वहाँको परिवारद्वारा पारिवारिक ट्रस्टको रूपमा समाज सेवा गर्ने उद्देश्य राखी सन् २००९ मा स्थापित संस्था हो । संस्था आरम्भदेखि नै शिक्षा, स्वास्थ्य र संस्कृतिलाई सेवाको प्रमुख आधार बनाइ गतिशील छ ।

‘नेवाः संस्कार व उकिया विधि’ www.dayafoundation.org.npमार्फत निःशुल्क डाउनलोड गर्न सकिने छ ।

सम्बन्धित समाचार