नवकान्तिपुर संवाददाता
भक्तपुर, १० कात्तिक ।
भक्तपुर क्याम्पसको मुलगेट तथा उत्तरतर्फको करिब १५० मिटर पर्खाल भक्तपुर नगरपालिकाले भत्काइदिएपछि क्याम्पसको असुरक्षा बढ्दै गएको जनाइएको छ ।
त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पस भक्तपुर बहुमुखी क्याम्पसको नाममा रहेको जग्गा नै नगरपालिकाले आफ्नो भएको भन्दै क्याम्पसले निर्माण गरेका पर्खाल र गेट भत्काएको हो, जब कि उक्त पर्खाल र गेट २०३२ सालदेखि नै क्याम्पस हातामा रहेको क्याम्पस प्रशासनले जनाएको छ ।
भक्तपुर क्याम्पसको उत्तरतर्फ रहेको भाजु पोखरीको डिल भागको खेत भक्तपुर क्याम्पसको नाममा पुर्जा रहेको भएता पनि नगरपालिकाले उक्त जमिन पोखरीको नै भएको भन्दै भक्तपुर क्याम्पस बिदा रहेको समयमा एक्कासि डोजर ल्याएर उपस्थित शिक्षक विद्यार्थीलाई हातपात गर्दै पर्खाल बास्केटबल कोर्ट, मूल गेट, पानी तान्ने मेसिन भएको भवनलगायत पार्किङ एरिया तथा शौचालय भत्काइदिएको हो ।
भक्तपुर नगरपालिका वडा नम्बर १७ (क) को कित्ता नम्बर २४२ को क्षेत्रफल ५ रोपनी ६ आना जग्गा २०३३ साल १० महिना २० गते नै भक्तपुर क्याम्पसको नाममा दर्ता भएर आएको मालपोत कार्यालय भक्तपुरले जनाएको छ ।
यता भक्तपुर नगरपालिकाले भने उक्त जग्गा भक्तपुर क्याम्पसले दर्ता गरेर लगेको, यो पोखरी नै भएको दाबी गर्दै आएको छ ।
भक्तपुर क्याम्पसको नाममा रहेको जग्गामा बाटो खोल्ने नाममा भक्तपुर नगरपालिकाले क्याम्पस प्रशासनसँग कुनै पनि समन्वय नै नगरी उपभोक्ता समितिसमेत बनाइसकेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार लक्ष्मीनारायण राजलवटको अध्यक्षतामा बाटो खोल्नको लागि उपभोक्ता समितिसमेत बनिसको छ । तर उक्त समितिको विषयमा भने आफूहरूलाई केही जानकारी नभएको भक्तपुर क्याम्पस प्रमुख कविता लुइटेल बताउनुहुन्छ ।
यस विषयमा भक्तपुर नगरपालिकासँग बुझ्दा पोखरीको डिल क्याम्पसको नाममा भएको भए पनि यो पोखरीको नै हो र यो कुनै पनि हालतमा क्याम्पसको हुन नसक्ने तथा क्याम्पसका पुराना संरचना पनि अहिलेसम्म नक्सा पास नगरिएको तथा क्याम्पसले निर्माण गरेको पर्खाल र गेट २०३२ सालअगाडि नै भएको भए पनि नक्सा पास नभएको नगरपालिकाको भनाई रहेको छ ।