नवराज घिमिरे
नुवाकोट, ककनी, १६ मङ्सिर ।
नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं– २ मा भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका कृष्ण घिमिरे ‘मिलन’ विजयी भएका छन् । घिमिरेले १०८५ मत प्राप्त गरी विजयी भएका हुन् ।
२०७९ को निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार तिलकबहादुर लामासँग ७३४ मत ल्याएर पराजित भएका घिमिरे यसपटक भने भारी मतान्तरले विजयी भएका छन् । काङ्ग्रेसका उम्मेदवार सूर्य तामाङ (जिम्बा) लाई ४९८ मतले हराउँदै घिमिरे दोस्रो प्रयासमा शानदार रूपमा विजयी भएका हुन् ।
काङ्ग्रेसको हारको कारण :
काङ्ग्रेसले यस उपनिर्वाचनमा ल्ऽज्जास्पद हार व्यहोर्नु परेको छ । पार्टीभित्रको गुटबन्दी र कार्यकर्तामा देखिएको असन्तोषले ठूलो भूमिका खेलेको काङ्ग्रेसकै स्थानीय नेताहरू बताउँछन् ।
गुटबन्दीको प्रभाव :
प्रदेशदेखि स्थानीय तहसम्म काङ्ग्रेसभित्र गुट–उपगुट हाबी भएको देखिन्छ । कार्यकर्ताहरूबीचको असमझदारी र नेताहरूबीचमा एकता अभाव हुनुलाई काङ्ग्रेसको हारको रूपमा लिन सकिन्छ । नेताले पार्टीको हितलाई भन्दा गुटलाई प्राथमिकतामा राख्दा सिङ्गो पार्टी नै कमजोर बनेको अथ्र्याइन्छ ।
प्रचारप्रसारको कमजोरी :
माओवादी केन्द्रका नेताहरूले चुनावको अघिल्लो दिनसम्म घरदैलो अभियान चलाउँदै मतदातासँग प्रत्यक्ष संवादमा रहेका देखिए तर काङ्ग्रेसका नेताहरू भने पार्टीको कार्यक्रम र अवधारणा राखेर पार्टीप्रति मतदाताहरूको आकर्षण बढाउनुको साटो गाडीमा चढेर काठमाडौं–ककनी ओहोरदोहोर गर्नमै व्यस्त देखिए ।
आन्तरिक असन्तोषको परिणाम् :
चुनावी टिकट वितरणमा देखिएको असन्तुष्टिले पनि मतदाताहरूमा असन्तोष बढाइदिएको देखियो । वडाका उपसभापतिको घरमा पार्टीको प्रचार प्रसारको कार्यालय राखेर प्रचार गरिएको भए पनि टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिनुले काङ्ग्रेस पार्टीलाई ठूलो क्षति पुुर्याएको देखियो । विद्रोहको यो तुुष रहिरहे आगामी दिनहरूमा पनि यसले थप क्षति पुुर्याउन सक्छ ।
आफ्नै उपलब्धिको मार्केटिङ गर्न नसक्नु :
काङ्ग्रेसले विगतमा विकास निर्माणका क्षेत्रमा गरेको कामको उचित प्रचार–प्रसार गर्न नसक्नु पनि हारको प्रमुख कारण बनेको देखिन्छ ।
माओवादी रणनीति :
माओवादी पार्टीका केन्द्रदेखि प्रदेशस्तरसम्मका नेताहरूले मतदातासँग प्रत्यक्ष भेटघाट गरेर उनीहरूको विश्वास जित्न सके । चुनावी रणनीतिमा उनीहरूको निरन्तर सक्रियता काङ्ग्रेसको तुलनामा धेरै प्रभावकारी देखिनु पनि काङ्ग्रेस हारको कारण बन्यो ।
भविष्यका लागि पाठ :
काङ्ग्रेसले आफ्नो आन्तरिक एकतालाई बलियो बनाउनुपर्ने आवश्यकता छ । आफ्नो उपलब्धिको प्रभावकारी प्रचार–प्रसार गर्न र अनुशासन कायम गर्न नसक्दा काङ्ग्रेस पार्टी भविष्यमा थप कमजोर बन्ने प्रबल सम्भावना देखिन्छ ।