

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षको पूर्वसन्ध्यामा दिएको अभिव्यक्तिमा नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबी गरेसँगै देशको राजनीति फेरि एकपटक तरंगित भएको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त भनाइको खण्डन गर्ने प्रयास त गरे, तर उनको भाव अत्तालिएको, छटपटाहटपूर्ण र त्रासयुक्त देखिएको आइतबार बसेको सचिवालय बैठकले पुष्टि गरेको बुझिन्थ्यो।
ओली त्रासमय अवस्थामा छन् भन्ने बुझाइ यसरी पनि हुन्छ कि प्रचण्डले नयाँ सरकार बन्ने भनाइ दिएको भोलिपल्टै प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय बैठक बोलाए। उक्त बैठकको मुख्य केन्द्रबिन्दु पनि प्रचण्डकै अभिव्यक्ति थियो।
प्रचण्डको गहिरो इच्छा जसरी पनि एमालेलाई सरकारबाट हटाउने रहेको छ र त्यसमा माधव नेपाल तथा अन्य साना दलका नेताहरूले पनि साथ दिइरहेका छन्। सचिवालय बैठकमा ओलीले भनेको कुरा पुष्टि गर्दै एक नेताले भनेका थिए, ‘तर त्यो पूरा हुन हामी दिँदैनौं, किनभने शेरबहादुर देउवा र हाम्रो अध्यक्षबीच सबै कुरामा सहमति मिलेको छ।’ एमालेको बैठकपछि नेता प्रदीप ज्ञवालीले सरकार परिवर्तनको कुरा केवल हल्ला मात्र हो, यसमा कुनै सत्यता छैन, भने।
तर वास्तविकता भने एमालेले भनेजस्तो सजिलो छैन भन्ने स्पष्ट देखिन्छ। प्रचण्डको अभिव्यक्तिले ओली आतंकित भएको बुझ्न गाह्रो छैन। सत्ताका साझेदार नेपाली काङ्ग्रेसले पनि सरकारसँग असन्तुष्टि जनाइरहेका बेला प्रचण्डको उक्त अभिव्यक्ति सार्वजनिक हुनु राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ।
ओली सरकार स्वयंले गरेका विभिन्न निर्णयहरूकै कारण सरकार टिकाइरहन गाह्रो परेको देखिन्छ।
विभिन्न नियुक्ति र बर्खास्तीसँगै काङ्ग्रेस सरकारको विकल्पको खोजीमा
एमाले-काङ्ग्रेस गठबन्धन बनेदेखि नै काङ्ग्रेस नेता डा। शेखर कोइरालाले वैचारिक र सैद्धान्तिक बहस उठाउँदै आएका थिए। अहिले भने उनी आक्रोशपूर्ण रूपमा सार्वजनिक मञ्चमा विरोध जनाइरहेका छन्। अर्का नेता, महामन्त्री गगनकुमार थापालगायतका नेताहरूले सरकार बिचौलियाको हितमा लागेको र प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच रहेको आरोप लगाइरहेका छन्।
जनताले सरकारको कामप्रति प्रश्न गर्न थालेका छन् – जनहितमा काम भएन, गति पनि ट्र्याक्टरको जस्तै ढिलो भयो। काङ्ग्रेसभित्रैका केही मन्त्रीहरूले गठबन्धनमा बलियो आधार नबनेको भन्दै असन्तुष्टि जनाइरहेका छन्। प्रधानमन्त्रीले प्रहरी प्रमुखदेखि लिएर धितोपत्र बोर्ड, बीमा बोर्ड, विद्युत प्राधिकरणको कार्यकारी निर्देशकसम्म आफ्नै मान्छे नियुक्ति गरेको भन्दै आलोचना भइरहेको छ।
तपसिलका कारणहरूले काङ्ग्रेस असन्तुष्ट देखिन्छ र त्यसैले ओली त्रसित देखिन्छन् :
प्रचण्डका पछिल्ला गतिविधिहरूबाट ओली त्रसित
चितवन पुगेर प्रचण्डले वर्तमान सरकार धेरै नटिक्ने, नयाँ वर्ष ८२ लाग्नासाथ नयाँ सरकार बन्ने दाबी गरे। केही दिनअघि मात्र उनले एक अन्तर्वार्तामा ओलीको विकल्पमा देउवालाई प्रधानमन्त्री बनाउन सकिने संकेत दिएका थिए।
प्रचण्डले ओलीभन्दा देउवालाई प्राथमिकता दिइरहेका छन् र सरकार परिवर्तनका लागि रणनीति बनाइरहेका छन्। आफू सरकारको लाइनमा नरहे पनि प्रचण्ड सरकार परिवर्तनका सक्रिय खेलाडी देखिन्छन्।
विद्यादेवी भण्डारीको अध्यक्षको आकांक्षाले एमालेभित्र खैलाबैला
ओलीका लागि पूर्वराजाको प्रदेश दौडान र भण्डारीको चाहनाले थप असहज स्थिति सिर्जना गरेको छ। भण्डारी पार्टीको अध्यक्ष बन्ने सार्वजनिक इच्छा प्रकट गर्दै देश दौडाहामा निस्किएकी छन्। एमालेभित्रको एक तप्काले उनलाई रोक्ने प्रयास गरिरहेको छ।
राजावादीहरूको सक्रियता : ओलीका लागि थप चुनौती
हाल देशमा राजावादी सोचको लहर बढ्दो छ। दलहरूको कमजोरी, जनताको निराशा र असन्तुष्टिले राजसंस्थाप्रतिको सद्भाव बढिरहेको छ।
साथै, भारतसँग ९ महिनासम्म पनि सुमधुर सम्बन्ध बनाउन नसक्नु ओली सरकारका लागि थप चुनौती बनेको छ। काङ्ग्रेस नेतृ आरजु राणा देउवाले पटक-पटक भारत भ्रमणको वातावरण बनाउन प्रयास गरे पनि सफल नहुनु सरकारको असफलता हो।
समग्रमा हेर्दा ओली सरकारले आफूलाई सच्याउन नसके राजनीतिक वातावरण प्रचण्डले भनेको बाटोमा नपुग्ला भन्न सकिन्न ।
