नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ मंसिर ।


देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । अर्घाखाँची, सन्धिखर्क नगरपालिका-१२ छापास्थित गोरेटो बाटो छेउमा सोही नगरपालिका-१२ तुम्कोट तालाघरे बस्ने ५५ वर्षीया कुन्ता कुँवर सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै पाँचथर, फाल्गुनन्द गाउँपालिका-२ सिरान पजमरटोल बस्ने ६५ वर्षीय ईन्द्र बहादुर नेम्वाङ सोही गाउँपालिका-२ च्यानडाँडास्थित आफ्नै सिमखेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै सिराहा, मिर्चैया नगरपालिका-२ महादेव चोकस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यता काठमाडौं महानगरपालिका-८ पशुपति गाईपालन नजिक सडकपेटीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३६ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् । उता सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-११ सखुवास्थित कोशी पलारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ११ वर्षीया बालिका आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ स्थित लौकही बजारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी धनुषा, जनकपुर उपमहानगरपालिका-१ रेल्वे स्टेसनको प्राङ्गणमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


