नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ मंसिर ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । सुनसरी, बर्जु गाउँपालिका-३ अमडुवाटोलस्थित लक्ष्मी नारायण मन्दिरको पुजारी भारत बिहार अररिया ग्राम पथरदेवा घर भएका ८५ वर्षीय भरत ठटेरी सोही मन्दिर नजिकैको घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै काठमाडौं, बुढानीलकण्ठ नगरपालिका-६ टनागाउँ डेरा गरी बस्ने मकवानपुर घर भएका २५ वर्षीय उमेश मोक्तान आफ्नै डेरा कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै मोरङ, रतुवामाई नगरपालिका-४ पैयामारी बस्ने ४२ वर्षीय शम्भु मुखिया सोही ठाउँस्थित पैयामारी चोकस्थित बाटोको किनारामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
उता बारा, सिम्रौनगढ नगरपालिका-२ अमृतगंजस्थित आँपको बगैंचामा सोही नगरपालिका-७ झवानी बस्ने ५० वर्षीय जङ्गीलाल महरा सोमबार मृत अवस्थामा फेला परेका छन् । यता रोल्पा, रोल्पा नगरपालिका-१० धवाङ बस्ने ७७ वर्षीया पिवली सुनार सोही नगरपालिका-१ पानास्थित भिरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० आपखोली बस्ने ५० वर्षीय लोक बहादुर थापा सोही ठाउँस्थित जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।