नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ मंसिर ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । धनुषा, मिथिला नगरपालिका-६ बसी पुलस्थित सडकमा महेन्द्रनगरबाट ढल्केवरतर्फ आउँदै गरेको प्र.३-०२-००६ प ६७५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सिराहा बिष्णुपुर नगरपालिका-१ गौरीपुर बस्ने २६ वर्षीय विवेक कुमार यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै सुनसरी, हरिनगर गाउँपालिका-४ हरिनगरा बजारस्थित सडकमा को.१ ख ६४३१ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री देवानगंज गाउँपालिका-७ बस्ने ५० वर्षीय झलु उरावको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै रूपन्देही, तिलोत्तमा नगरपालिका-८ प्रदिपनगरस्थित सडकमा गणेशनगरबाट प्रदिपनगरतर्फ जाँदै गरेको लु.३ त ६५४१ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा चालक मायादेवी गाउँपालिका बस्ने ३५ वर्षीय रामकेश कुर्मीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


