एनपिएल : पोखरालाई पाँच रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पाँच रनले हराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार सुदूरपश्चिमले दिएकोे एक सय ५४ रन लक्ष्य पछ्याएको पोखराले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो ।

पोखराका लागि एन्ड्रिज गौसले सर्वाधिक ३६ रन बनाए । उनले २१ बलमा दुई छक्का र चार चौकाको मद्दतले ३६ रन बनाएका हुन्् । त्यस्तै, रेमन रेइफरले ३३, किरण ठगुन्नाले ३२, दिनेश खरेलले १५ र जेन मलिकले १० रन बनाए ।

पोखराका लागि माइकल लिस्कले पाँच, सागर ढकाल र दिलीप नाथले समान एक-एक रन जोडे । यो खेलमा पोखराले अतिरिक्त १५ रन पाएको छ ।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्गेलिजनले सर्वाधिक पाँच विकेट लिए । हरमित सिंहले तीन र सैफ जैबले एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो । योसँगै सुदूरपश्चिम रोयल्स एनपिएलको ‘प्लेअफ’ चरणमा प्रवेश गरेको छ ।

सुदूरपश्चिमको लागि आरिफ शेखले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै ४२ रनमा अविजित रहे भने ब्रान्डन म्याकमुलेनले १६ बलमा एक चौका र दुई छक्काको मद्दतमा २३ रन बनाए ।

त्यस्तै कप्तान दिपेन्द्रसिंह ऐरीले २० रन जोड्दा विनोद भण्डारीले १४ र हरमित सिंहले १३ रन बनाए । पोखराको लागि कुशल भुर्तेलले दुई विकेट लिए भने रेमोन रेइफर, सगर ढकाल र माइकल लिस्कको भागमा समान एक-एक विकेट रह्यो ।

सम्बन्धित समाचार