महिला यु–१९ एसिया कप : नेपालद्वारा पाकिस्तान छ विकेटले पराजित

मलेसियामा जारी महिला यु–१९ एसिया कपमा नेपालले पाकिस्तानमाथि जित निकाल्दै प्रतियोगितामा विजयो सुरुवात गरेको छ । सोमबार भएको खेलमा नेपालले टेष्ट राष्ट्र पाकिस्तानमाथि छ विकेटको सानदार जित निकालेको हो ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ‘ब्याटिङ’ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको हो ।

पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ बनाइन् । उनले ४४ बलमा दुई चौका प्रहार गर्दै ३८ रन बनाएकी हुन् । यस्तै, महम अनिसले ‘नटआउट’ २९, रवैल फरहानले १३, कप्तान जोफिशन अय्याजले १२ र फातिमा खानले नटआउट छ रन बनाइन् भने अरिशा अन्सारीले एक रन जोडिन् ।

बलिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक दुई विकेट लिइन् । यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले एक-एक विकेट लिए । पाकिस्तानले दिएको एक सय पाँच रन्को लक्ष्य लिएर मैदान उत्रेको नेपालले १९ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको लागि कप्तान पुजा महतो ४७ रनमा अविजित रहिन् भने सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन बनाइन् । पाकिस्तानका लागि फतिमा खान र क्वार्टुलानले समान एक-एक विकेट लिए ।

जितसंगै नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ । नेपालले भोलि भारतसँग खेल्ने छ । पाकिस्तान पहिलो खेलमा भारतसँग नौ विकेटले पराजित भएको थियो ।

सम्बन्धित समाचार