नेपाली काँग्रेसले १५औं महाधिवेशन समयमै सम्पन्न गर्न नेतृत्वले चुक्न हुँदैन

नेपाली काँग्रेसको आन्तरिक राजनीतिले २०४६ सालदेखि हालसम्म स्थायित्व पाउन नसकेको कुरा सबैलाई थाहा छ। पार्टीको १५औं महाधिवेशन सम्पन्न गराउनुपर्ने समयरेखा आउन धेरै बाँकी छैन। अन्तिम चरणतर्फ अग्रसर हुँदै गर्दा अधिवेशनको समय चौथो वर्षमा सुरु भइसकेको छ। पार्टीको विधानअनुसार देशमा, अर्थात् राजनीतिक पार्टीमा असहज परिस्थिति नआएमा यस वर्ष महाधिवेशन आयोजना हुनैपर्छ।

अहिलेसम्मको परिवेश हेर्दा देश र पार्टी दुवैमा त्यो प्रतिकूलता वा त्यस्तो संवेदनशील अवस्थाको सम्भावना पनि देखिँदैन। पार्टीका सदस्यहरूको भावना, चाहना, र समयको गतिशीलतालाई हेरेर महाधिवेशन समयमै होस् भन्ने अपेक्षा राखिएको छ। विगतको महासमिति बैठकको प्रतिबद्धता र निर्णय पनि यही थियो। यो पार्टीका लागि सांगठनिक आवश्यकता मात्र नभई देशकै आवश्यकता हो।

तर, अहिलेसम्म यसको कुनै ठोस तयारी भएको देखिँदैन। समयसँगै नेताहरूका बोलीचाली पनि फेरिन थालेका छन्। अधिवेशन गराउने कुनै अग्रसरता देखाइएको छैन। यसले के देखाउँछ भने समयमै महाधिवेशन हुने सम्भावना न्यून छ। यसले पार्टी सदस्यहरूमा निराशा र आक्रोश बढाउने निश्चित छ।

देशको ठूलो र पुरानो पार्टी, जसले विभिन्न कालखण्डमा देशलाई नेतृत्व दियो, त्यसले बोलेका कुरा र गरेको व्यवहार अनुकरणीय र उदाहरणीय हुनुपर्छ। राजनीति भनेको जे पायो त्यही बोल्ने र जे मन लाग्यो त्यही गर्ने क्षेत्र होइन।

नेपालका ठूला पार्टीहरूले निरन्तर रूपमा जनताबाट विश्वास गुमाउँदै गएको विभिन्न घटनाक्रमले देखाउँछ। अहिले नवस्थापित दलहरूले पनि जनताको विश्वास र भरोसा जित्न सकेका छैनन्। यसले गर्दा जनतामा राजनीतिक वितृष्णा फैलिएको छ, जो देशका लागि राम्रो होइन।

नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीले १५औं महाधिवेशन समयमै नगर्नुपर्ने विशेष कारण के हो? यसको जवाफ जिम्मेवार नेताहरूले पार्टीका सदस्य तथा शुभचिन्तकहरूलाई दिनुपर्छ।

महाधिवेशन उन्मुख हुँदै गर्दा देशभरि बहसको विषय यो हुनुपर्छ कि विगतको १४औं महाधिवेशनदेखि हालसम्म पार्टीमा के कस्ता सुधार भए? विभिन्न भ्रातृसंस्थाहरूको अवस्था के छ? पार्टीको अस्तव्यस्तता र चुनौतीलाई यथावत राखेर भविष्य ठीक हुने सोच्नु लाचारीपन बाहेक केही होइन।

नेतृत्वले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको प्रष्टै छ। विधिको शासन स्थापित गर्न समयमै १५औं महाधिवेशन गर्न आवश्यक छ। यसमा नेतृत्वले चुक्न हुँदैन। काँग्रेस न कसैको पेवा हो, न कसैको दबाब वा प्रभावमा परेको क्षेत्र हो। काँग्रेसका लाखौँ सदस्य विचार र सिद्धान्तले प्रेरित भएर लागेका छन्।

तसर्थ, सबै मतभेद, कटुता, र गुटबन्दी त्यागेर परिस्थिति बुझेर महाधिवेशनको तयारीमा जुट्न आवश्यक छ। यसबाट पार्टीको छवि सुध्रिएको सन्देश जान्छ र प्रतिष्ठा बढ्छ। यहीमा पार्टीको ध्यान जानु आजको आवश्यकता हो।

सम्बन्धित समाचार