नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ माघ ।
दक्षिण सुडानमा विमान दुर्घटना भएको छ । उक्त विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रदेशका सूचना तथा सञ्चारमन्त्री गतवेच विपालले बुधबार जानकारी दिनुभएको छ ।
राजधानी जुबाका लागि उडेको विमान करिब १०ः३० बजे युनिटी राज्यको तेल क्षेत्र नजिकै खसेको थियो ।
“विमान विमानस्थलबाट ५०० मिटर टाढा दुर्घटनाग्रस्त भयो । विमानमा २१ जना सवार थिए । अहिले त्यहाँ एक जना मात्र बाँचेका छन्,” गतवेच विपालले बताउनुभयो ।
ग्रेटर पायोनियर अपरेटिङ कम्पनी (जीपीओसी) ले चार्टर्ड गरेको र लाइट एयर सर्भिस एभिएसन कम्पनीले सञ्चालित उक्त विमान यस क्षेत्रमा नियमित उडानमा रहेको उहाँले बताउनुभयो ।
उहाँले उक्त दुर्घटनाबाट राज्य सरकार गहिरो दुःखी भएको बताउँदै यसबारे छानबिन गरिने जानकारी दिनुभयो ।