नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ माघ ।
त्रिकोणात्मक टी ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान बिहीबार भएको खेलमा नेपाल नेदरल्याण्डसँग २० रनले पराजित भएको हो । नेदरल्याण्ड्सले जितका लागि दिएको एक सय ५८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३७ रनमा समेटिएको हो ।
नेपालका लागि सीता रानामगरले सर्वाधिक २८ रनको योगदान दिइन् । उनले ४५ बलमा तीन चौकाको सहयोगमा २८ रन बनाएकी हुन् । त्यसैगरी कविता जोशीले १७ बलमा एक चौका र दुई छक्काको सहयोगमा २७ रन बनाइन् । पुजा महतोले १४ बलमा दुई चौका र दुई छक्काको सहयोगमा २४ रन बनाइन् ।
त्यसबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । सम्झना खड्काले ९ रन बनाइन् भने कविता कुवँरले ८ तथा कप्तान इन्दु बर्माले ७ रन जोडिन् । बलिङतर्फ नेदरल्याण्डसका इभा लिन्च र क्यारोलिन डे लाङले समान दुई दुई विकेट लिइन भने आइरिस विलिङ र फ्रेडरिक ओभरडाइकले समान एक एक विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ५७ रनको योगफल बनाएको हो ।
नेदरल्याण्ड्सका लागि रोबिन रिकेले सर्वाधिक ५९ रनको योगदान दिइन् । उनले ४८ बलमा ८ चौकासहित ५९ रन बनाएकी हुन् । त्यस्तै आइरिस विलिङले १३ बलमा ३१ रन बनाइन् । स्ट्री कालिसले ३५ बलमा २९ रन जोडिन भने र हेटर सिगेसर्ले १९ बलमा २३ रन जोड्दै आउट भइन् ।
नेपालका लागि कविता कुँवर, पुजा महतो, सिता रानामगर र ईश्वरी विष्टले समान एक–एक विकेट लिए । अब नेपाली महिला टोलीले शनिबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।