गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

निर्देशक तुलसी घिमिरेको स्वास्थ्यमा समस्या आएपछि रोकिएको नेपाली चलचित्र ‘पहाड’ को छायाङ्कन पुनःसुरू भएको छ ।

गत माघ २२ मा मुहुर्त गरेर एक दिन छायाङ्कन गरेपछि निर्देशक घिमिरेलाई ‘निमोनिया’ भएको थियो । स्वास्थ्य अनुकुल भएपछि पूर्वनिर्धारित तालिका अनुसार गोरखा र आसपासका क्षेत्रमा चलचित्रको छायाङ्कन सुरु गरेको निर्देशक घिमिरेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “केही वर्षपछि चलचित्रको काममा फर्किएको छु, नयाँ पुस्ताका कलाकारसँग काम गर्दा छुटै ऊर्जा प्राप्त भइरहेको छ । यस चलचित्रमा मानव बस्ती शून्य बनेको उच्च पहाडको कथा समेटिएको छ ।”

उहाँले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु चलचित्रमा रहेको बताउनुभयो । ओजस्वी केसी निर्माता रहनुभएको चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गरिरहनु भएको छ । भारतीय चलचित्र र टेलिशृङ्खलामा काम गरिसक्नुभएका छायाँकार प्रधानले ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ मा निर्देशक घिमिरेसँग सहकार्य गरिसक्नुभएको छ ।

यसको छायाङ्कन गोरखा र आसपासमा २५ दिन र भारतमा १५ दिन हुने निर्देशक घिमिरेले जानकारी दिनुभयो । भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायतका कलाकारले अभिनय रहने छ ।

यसै चलचित्रमार्फत निर्देशक घिमिरेको कान्छी छोरी पञ्चमी घिमिरेले चलचित्रमा अभिनयको सुरुआत गर्दै हुनुहुन्छ । उहाँको जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको रुपमा काम गरिरहनुभएको छ । दुई छोरीले चलचित्रलाई पेसा बनाउदा आफूलाई खुसी लागेको निर्देशक घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई पनि आफ्नो सन्तानले आफूले गरिरहेको काम वा पेसालाई रोज्दा खुसी लाग्छ । एक छोरी अभिनेत्री बनेकी छिन् भने अर्को निर्देशनसहित प्राविधिक विधामा इच्छुक छिन् । यसकारण पनि म यो चलचित्रलाई लिएर उत्साहित छु ।”

चलचित्र आगामी वर्षको जेठमा प्रदर्शन गर्ने तयारी निर्माण पक्षको छ ।

सम्बन्धित समाचार