नवराज घिमिरे
काठमाडौं, १३ फागुन ।
संसारका अधिकांश मुलुकहरूमा सुशासन सम्बन्धी अध्ययन हुने गर्दछ । विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले गरेको अध्ययन प्रतिवेदनमा नेपाल अत्यधिक भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा सूचीकृत भएको छ । ग्रे लिस्टमा परेको खबर हालै सार्वजनिक भएको छ । तर, देश आफैं भ्रष्टाचारी हुन सक्दैन, देशमा शासन गर्ने शासकहरूको भ्रष्टाचारकै कारण नेपाल आज विश्वसामु भ्रष्टाचारग्रस्त देशको छवि बनाउँदै गएको छ ।
नेपाललाई अत्यधिक भ्रष्टाचार हुने मुलुकको दर्जामा पुर्याउने श्रेय ३५ वर्षदेखि देशमा शासन गरेका नेताहरूकै हो । म यो देशको जिम्मेवार नागरिक भएको नाताले, भ्रष्टाचारग्रस्त देशको नागरिक भए पनि, आफैं भ्रष्टाचारमा संलग्न नभए तापनि, विश्वको नजरमा हामी सबै नेपालीहरूलाई भ्रष्टाचारीका रूपमा हेरिने स्थिति सिर्जना भएको छ ।
यसको अर्थ हामी नेपालीहरू जन्मसिद्ध रूपमा भ्रष्टाचारीको ट्याग भिर्न बाध्य भएका छौं। भ्रष्टाचारले जरो गाडेको देशको समाजमा एक सदस्यका रूपमा बस्नुपर्ने बाध्यता छ । देशमा शासन गर्ने शासक र जनताको हितमा काम गर्ने राज्य व्यवस्था हुनुपर्ने हो । तर, त्यो हुन नसक्दा व्यवस्था र अवस्था दुवै विफलतामा उन्मुख देखिन्छ ।
लोकतन्त्रले जनताको लोककल्याणकारी राज्य व्यवस्थाको कल्पना गरेको हो। भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको अन्त्य गरी देशमा सुशासन कायम गर्ने नेतृत्व आजको आवश्यकता हो। यस्ता नेताहरू चाहिन्छन् जो भिजन, मिसन र योजना सहित दृढ विश्वासका साथ देश बनाउने अठोट बोकेका छन् ।
सक्षम नेतृत्व त्यो हो, जुन क्षमतावान व्यक्तिहरूबाट छानिन्छ । जनताले चाहेको नेतृत्व नै वास्तविक नेतृत्व हो। जनताले चाहेमा सत्ता परिवर्तन गर्न सक्छन् र असक्षम नेताहरूलाई सडकमा उतार्न सक्छ न्। त्यसैले जनताको चाहना र विचारलाई समेट्न सक्ने नेताको खाँचो छ ।
एक सफल नेतामा शुद्ध आचरण, सदाचार र उच्च विचार अनिवार्य हुन्छ। तर, हाम्रो समाजमा नेताहरू नै भ्रष्टाचारको मूल कारण बनेका छन्। शक्ति र अधिकार प्राप्त भएपछि जनताको सेवा गर्न बिर्सेर आर्थिक लालचमा भ्रष्टाचारमा फस्छन् ।
नेपालमा नेताहरूको भ्रष्टाचार मुख्यतः आर्थिक लाभ प्राप्त गर्ने चाहनाबाट प्रेरित हुन्छ। यहाँ धेरैले छोटो समयमा अकुत सम्पत्ति जोड्ने गरेका छन्। व्यापार, व्यवसाय वा कुनै आम्दानी स्रोत नभएको नेताहरू अचानक अरबौंको मालिक बनेका छन् ।
धन, दौलत र सुख-सुविधाले मानिसलाई सदाचारबाट टाढा पुर्याउँछ। जहाँ गए पनि भ्रष्टाचारको गन्ध फैलिएको छ। नेपालमा राजनीतिक दल र कर्मचारी तन्त्र सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न देखिन्छन्। जब देश चलाउने मुख्य संयन्त्रहरू नै भ्रष्टाचारमा लिप्त हुन्छन्, तब समाजका अन्य क्षेत्रमा पनि त्यसको नकारात्मक प्रभाव पर्छ ।
अन्ततः यो भ्रष्टाचारको मार जनताले नै भोग्नुपर्ने हुन्छ। बजारको मूल्य वृद्धि, बेरोजगारी समस्या र सरकारको लाचारीपनका कारण जनता निराश बनेका मात्र छैनन, आम्दानीको वैधानिक स्रोत केही नभएका नेताहरूको तिलस्मी ढङ्गबाट बढेको कमाइ र विलासी जीवन देखेर छक्क पनि परेका छन् । उनीहरूले नेपाल गरिब हुनु र ग्रे लिष्टमा पर्नुजस्ता कुराको आधार पाएको महसुस गरेका छन् ।
जनताले महसुस गरेर मात्र देशको अवस्था परिवर्तन हुँदैन । व्यवस्था जति राम्रो भए पनि नेता र नेतृत्व गलत भयो भने देश माथि उठ्न सक्तैन । उदाहरण नेपाल नै भयो । फेरि पनि जनताले निच मारेर ‘नेपालमा यस्तै हो’ भन्ने हो भने भ्रष्टहरूको मनोबल अझ उठ्नेछ र भ्रष्टचार न्युन हुँदै जानुको साटो भ्रष्टाचारको ग्राफ अझ माथि बढ्दै जाने छ । अतः जनताले हीरा र कीरा चिन्ने बेला यही हो । मुलुकको ढुकुटीमा पसेर अन्न (आर्थिक स्रोत) खाएर तहसनहस पार्ने कीरालाई पाल्नु भनेको जनताले आफ्नै खुट्टामा बञ्चरोले हान्नुसरह हो ।
बिरामीको निधनपछि आएको डाक्टर र मुलुक लुटिइसकेपछि आएको चेतनाको कुनै अर्थ रहन्न ।