भेषराज कार्की
काठमाडौं, २० फागुन ।
निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण चलचित्रप्रति आकर्षण बढेको पाइन्छ । सोही कारण बेलाबखतमा यस क्षेत्रमा नयाँ अनुहारको आवश्यकता खड्किने गर्छ । एक दशकअघि देखि नयाँ पुस्ताका रूपमा प्रदीप खड्का, अनमोल केसी, सलोन बस्नेतको आगमन भएको कारण नयाँ पुस्ता चलचित्र भवनसम्म पुगे । उनीहरूले आफ्नो पुस्तालाई मुख्य कलाकारका रुपमा मात्र पाएनन्, आफ्नो कथा, लवज र जीवनशैली पनि पाए ।
नेपाली चलचित्रमा नयाँ अनुहार ल्याउने श्रेय ‘होस्टेल’ शृङ्खलालाई जान्छ । प्रदर्शन भइसकेको ‘होस्टेल’ र ‘होस्टेल रिट्न्स’ बाट चलचित्रमा ‘डेब्यु’ गर्नुभएका अभिनेता अनमोल केसी, सलोन बस्नेत, स्वस्तिमा खड्का, नाजिर हुसेनलगायत अहिले स्थापित बनिसक्नु भएको छ । कुनै समय नयाँ कलाकारलाई चलचित्रमा ल्याउन ‘होस्टेल’ शृङ्खला उपयुक्त मानिन्थ्यो ।
तर, विविध कारणले यसको दोस्रो शृङ्खलापछि तेस्रो बन्न धेरै समय लाग्यो । ‘होस्टेल रिट्न्स’ प्रदर्शन भएको एक दशकपछि यसको तेस्रो शृङ्खला ‘होस्टेल ३’ तयार भएर आउँदो फागुन २३ मा प्रदर्शन हुँदैछ ।
यसपटक चलचित्र निर्माण, निर्देशनदेखि अभिनय गरेका कलाकार नयाँ छन् । विशेषतः यसलाई ‘नयाँ पुस्ता’ को चलचित्र भन्न सकिन्छ । यस चलचित्र ‘होस्टेल ३’ मार्फत अभिनय यात्रा प्रारम्भ गर्नुभएका पदम तामाङ भारतको सिक्किममा बसोबास गर्नुहुन्छ । आफ्नै ‘युट्युब च्यानल’मार्फत विभिन्न हास्य व्यङ्ग्यात्मक कार्यक्रम निर्माण गरिरहनुभएका तामाङले ती सब छाडेर चलचित्रमा अभिनय रोज्नुभयो ।
“मलाई बेलाबखतमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आउँथ्यो तर केहीमा कथा र केही पात्रमा आफूलाई पाउन सकेको थिइनँ । साथै, मैले निर्माण गर्ने ‘कन्टेन्ट’लाई युट्युबमा दर्शकले रुचाउनु भएको थियो, मसँग जोडिएका सबैले बल्ल मेहनत फल पाउनुभएको थियो । अर्थात् हाम्रो राम्रो दिन सुरु भएको थियो । त्यही भएर ती सब छाडेर, सिक्किम छाडेर नेपाल आएर चलचित्रमा अभिनय गर्ने आँट आएको थिएन”, अभिनेता तामाङले भन्नुभयो ।
यद्यपि ‘होस्टेल ३’ बाट प्रस्ताव आएपछि उहाँका सबै सहकर्मी र परिवारले समेत नयाँ यात्रा सुरू गर्न प्रोत्साहन गर्नुभयो । सोही कारण उहाँले पुरानो परिचयलाई चट्ट छाडेर नयाँ परिचयको सुरुआत गर्नुभएको छ । यस्तै, कथा अभिनेत्री सिम्रन पन्तको पनि रहेको छ । विद्यालयमा अभिनय गर्दा कहिले एक्लै चलचित्र हेर्न समेत नपाउनुभएकी उहाँ अहिले चलचित्रमा अभिनेत्री बन्नुभएको छ ।
बेलाबखतमा परिवारसँग चलचित्र भवन पुग्दा उहाँलाई खुसी मिल्ने रहेछ, सोही कारण उहाँले उच्च शिक्षासँगै कलात्मक पाटोलाई समेत बढाउँदै लानुभयो । फलतः ‘अडिसन’मार्फत उहाँ अभिनेत्रीका रुपमा छानिनुभयो । “मैले अभिनयको प्रशिक्षण पनि लिएकी थिएँ । तर, यसअगाडि केही चलचित्रमा काम गर्ने तय भए तापनि त्यो बनेनन्, त्यसकारण प्रस्ताव आउनु नयाँ थिएन । होस्टेलको तेस्रो शृङ्खला बन्दैछ भन्ने थाहाँ पाएपछि म खुसी भएँ । मैले अभिनय गर्दैछु भन्ने तय भएको दिनको उत्साहलाई मैले शब्दमा बयान गर्न सक्दिन”, अभिनेत्री पन्तले भन्नुभयो ।
उहाँ खुसी हुनुको कारण अभिनेता तामाङ झैँ ‘होस्टेल’ शृङ्खलाको दर्शक भएर हो । उमेरले चालिस पुग्नुभएका कलाकारहरुको भीडमा आफ्नै पुस्तालाई चलचित्रमा पाउँदा अभिनेत्री पन्त दङ्ग पर्नुभयो । किनकि युवाको होस्टेल जीवन मात्र नभई ‘टिन एज’ मा आउने उतारचढाव समेत चलचित्रमा समावेश गरिएको थियो ।
या भनौँ तन्नेरी पुस्ताको कथा र व्यथा चलचित्रमा थियो । तेस्रो शृङ्खला अर्थात् ‘होस्टेल ३’ मा नयाँ पुस्तासँगै जोडिएको विषय भएपछि ‘कुल ब्वाई’ नामक ‘टिकटकर’का रुपमा परिचय बनाउनुभएका पारसबम ठकुरी ठूलो पर्दामा अभिनय गर्न सहमत हुनुभयो ।
“प्रस्ताव गरिएको पात्र आफू झैँ लाग्नाका साथै आफ्नै जस्तोको कथा लागेपछि चलचित्रमा काम गर्ने सोच बनाएको हुँ । फेरि कुनै न कुनै समयमा आफूलाई भिन्न परिचय दिनु नै थियो । म सानो क्यामेराबाट यहाँसम्म आइपुगेको छु । म परिचय फेर्न त आएको हुँ, तर धरातल नछाडेर । आफूले सपना देखियो र त्यसलाई पूरा गर्न इमान्दारिताका साथ लागियो भने निश्चय सफलता पाइन्छ भने उदाहरण बन्न सकूँ जस्तो लाग्छ”, अभिनेता ठकुरीले भन्नुभयो ।
उहाँलाई चलचित्रमा काम गर्न सहज लाग्नाका कारण नै आफ्नै जस्ता र उमेर समूहका कलाकार तथा प्राविधिक थिएँ । सबै नयाँ र उस्तै उमेर समूहको भएकै कारण सजिलै चलचित्र बन्यो । सामाजिक सञ्जाल वा निःशुल्क दर्शकले रुचाउनु भए तापनि ठूलो पर्दामा हेर्न आउने हो कि होइनन् भन्ने डर त सबैलाई छ ।
तर, आफूले गरेको कामप्रति सबै ढुक्क छन् । यसै चलचित्रमार्फत अभिनयको सुरुआत गर्ने अर्का कलाकार हुनुहुन्छ, आशिष घिमिरे । छ वर्षको उमेरदेखि हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’ मा ‘धुन्धुकारी’ को भूमिकामा लगातार पाँच वर्षसम्म अभिनय गर्नुभएका अभिनेता घिमिरे कलाकार केदार घिमिरेका छोरा हुनुहुन्छ ।
बुबा टेलिशृङ्खला र चलचित्रमा स्थापित भए तापनि अभिनेता घिमिरेले केही साङ्गीतिक श्रव्यदृश्यमा लेखक र निर्देशन समूहमा रहेर काम गर्नाका साथै आरोहण गुरुकुल नाटकघरमा नाट्यकर्मी सुनिल पोखरेलसँग अभिनय सिक्नुभयो । उहाँले केही सडक नाटक, नाट्यकर्मी पोखरेलको निर्देशनमा तयार भएको ‘गच्छामि’ नामक नाटक र रामभजन कामतले निर्देशन गर्नुभएको ‘काल’ नामक नाटकमा अभिनय गरेपछि चलचित्रमा अभिनय गर्नुभयो ।
“चलचित्र बन्दैछ र चाहिएको पात्र म गर्न सक्छु भन्ने लागेपछि ‘अडिसन’ दिएँ । निर्माण समूहले खोजे झैँ पात्र भए तापनि धेरै पटक अडिसन दिएपछि म छनोट भएको हुँ । म मेरो बुबाको नाम र पहिचानभन्दा पनि आफ्नै कामले चिनिन चाहन्थे । सोही कारण आफूले सक्दो मेहनत गरेर चलचित्रसम्म आएको हुँ”, अभिनेता घिमिरेले भन्नुभयो ।
अभिनेता घिमिरेसँगै अन्य तीन कलाकारको पनि पहिलो चलचित्र भएकाले नर्भस, उत्साह र डर सबैमा थियो । एकआपसमा घुलमिल हुनाका साथै कार्यशाला (अभिनय प्रशिक्षण) गरे तापनि छायाङ्कनको पहिलो डर सबैमा थियो । किनकि यहाँ आफ्नो कारणले चलचित्र निर्माण गर्न तयार प्राविधिकसहितको टिमको काम बिग्रिन्थ्यो ।
“हामी सबैको उस्तै उस्तै मनोभाव रहेछ । किनकि प्राविधिक सबै पोख्त हुनुहुन्थ्यो । हाम्रो कारणले उहाँको कामसमेत सफल हुन्थेन । तर, छायाङ्कन अगाडि हामीले होस्टेल शृङ्खलामा अभिनय गर्नुभएका पुराना कलाकारलाई भेटेर उहाँको अनुभव सुनेका थियौँ, त्यसले हामीलाई आत्मविश्वास बढाउन मदत गर्यो ”, अभिनेता ठकुरीले भन्नुभयो ।
‘होस्टेल’मा अभिनय गर्ने अभिनेता गौरव पहाडी र सलोन बस्नेतले सुनाएको अनुभव आफ्नो भन्दा फरक नपाएको अभिनेत्री पन्तले बताउनुभयो । नयाँमा सबै उस्तै हुने वा उही मनोविज्ञान हुने भएपछि सबै कलाकारलाई थप ऊर्जा प्राप्त भयो । त्यही ऊर्जाले उनीहरूलाई छायाङ्कन गर्ने दृश्यमा आफ्नो पात्रलाई जीवन्त बनाउन मद्दत गर्यो ।
चलचित्रमा अन्य ‘डेब्यु’ कलाकार रिहान गिरी, हिना नगरकोटी र समा पराजुली पनि हुनुहुन्छ । उहाँ सम्पूर्ण कलाकार चलचित्र ‘होस्टेल ३’ को सार्वजनिक प्रचार सामग्रीमा आत्मविश्वासी देखिनुभएको छ । पात्रलाई जीवन्त बनाएको प्रतिक्रिया दर्शकले सामाजिक सञ्जालमा दिनुभएको छ ।
दर्शक प्रतिक्रियाकै कारण अभिनेता तामाङ अब अभिनयलाई निरन्तरता र युट्युबमा नयाँ ‘कन्टेन्ट’ तयार गर्ने तयारीमा हुनुहुन्छ । “म आगामी दिनमा हास्य कलाकारकै रुपमा देखिन्छु भन्ने लागेको छ । किनकि यसमा पनि मेरो पात्रले गर्ने गतिविधिले चलचित्र हेर्न आउनु हुने दर्शक हाँस्न बाध्य बन्नु हुन्छ । साथै, आफ्ना रोकिएको कामको पनि सुरुआत गर्छु”, अभिनेता तामाङले भन्नुभयो ।
व्यावसायिक सुरक्षाका कारण प्रायः निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि नयाँ अनुहारले चलचित्रमा नयाँ दर्शक तान्न सक्ने भएको र विषयवस्तुसँगै ‘होस्टेल’ शृङ्खलाको ‘लिगेसी’ लाई अगाडि बढाउन नयाँ पुस्ताको चलचित्र बनाएको निर्देशक सशान कँडेलले बताउनुभयो ।
“म आफैँ निर्देशकका रुपमा नयाँ भएकाले मैले प्रतिभा भएका र मेहनत गर्नसक्ने नयाँ पुस्तालाई चलचित्रमा ल्याएको छु । उहाँहरू सबै आउँदो केही वर्षमा सर्वाधिक खोजिने कलाकारका रुपमा परिचित बन्नुहुनेछ भन्ने मलाई लागेको छ । तर, अहिलेको जस्तै मेहनती र सरल भने रहन सक्नुपर्छ”, निर्देशक कँडेलले भन्नुभयो ।
यसअगाडिका ‘होस्टेल’ का दुई शृङ्खलाले नयाँ पुस्तालाई कलाकारितामा स्थापित गराउनाका साथै व्यावसायिक सफलता पनि हासिल गरेको थियो । ‘होस्टेल ३’ को व्यापार आउँदो केही सातामा थाहा हुने भए तापनि यसमार्फत चलचित्रमा भित्रिएका नयाँ पुस्ताको चर्चा भने अहिले नै बढिरहेको छ । (रासस)