नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ चैत ।


सल्यान र कैलालीबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यान, सिद्धकुमाख गाउँपालिका-१ कागखोला बस्ने १९ वर्षीय नबराज बुढाथोकीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नबराजले ती बालिकालाई गत फागुन २९ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडा बी गाउँ बस्ने २४ वर्षीय राजेश बिष्टलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
राजेशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


