

कुर्सी र पदको स्वाद पटक-पटक चाखिसकेका प्रचण्ड पदबाट बाहिर निस्कँदा पीडा अनुभूति गरेका थिए। सत्ता बाहिरिएको नौ महिना मात्र बितेको छ तर उनीमा सत्ताको छटपटी फेरि देखिन थालेको छ। उनी विभिन्न सार्वजनिक कार्यक्रममा सरकारप्रति असन्तुष्टि पोख्दै हिँडिरहेका छन्।
२०८० असारमा काङ्ग्रेस र एमालेबीच सत्ता समीकरणको यात्रा सुरु भयो, जसपछि प्रचण्ड प्रधानमन्त्रीबाट हटे। त्यसयता, उनी लगातार आक्रामक रूपमा सार्वजनिक अभिव्यक्ति दिँदै आइरहेका छन्। अहिलेको सरकार कमजोर भएको दाबी गर्दै उनले काङ्ग्रेसलाई फकाउन नयाँ अस्त्र प्रयोग गरेका छन्।
काङ्ग्रेसले चाहे सरकारमा गइयोस् वा बाहिरै बसेर होस्, सहयोग गर्ने घोषणा उनले विभिन्न सञ्चार माध्यमहरूमा गरिसकेका छन्। “अब सत्ताको कोर्स बदलिनुपर्छ। गिरीजाबाबुको नेतृत्वमा शान्ति सम्झौतामा हस्ताक्षर गर्ने सबै दलहरू फेरि एक ठाउँमा उभिनुको विकल्प छैन,” अध्यक्ष दाहालले भनेका छन्।
नेपाली काङ्ग्रेसले इच्छा गरेअनुसार माओवादी अघि बढ्न तयार रहेको भन्दै प्रचण्डले पुनः सत्तामा फर्कन काङ्ग्रेससँग हातेमालो गर्न चाहेको संकेत दिएका छन्।
पालैपालो सत्ता साझेदारी गर्ने शर्तअनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेका थिए। काङ्ग्रेस र एमाले मिलेर बनेको सरकारबाट जनताले देशमा निकास, सुशासन र भ्रष्टाचार नियन्त्रणको अपेक्षा गरेका थिए। तर, नौ महिनाको अवधिमा ती सबै अपेक्षाहरू मिथ्या सावित भएका छन्।
प्रधानमन्त्री भएको दिनदेखि ओलीले “सरकार नढल्ने, गठबन्धन नटुट्ने” भनेर दोहोर्याइरहेकै छन्। देउवाले पनि त्यही विश्वास दिलाउने प्रयास गरिरहेका छन्। तर पछिल्ला घटनाक्रम हेर्दा सत्ता साझेदार दलका शीर्ष नेताहरू नै सरकारको कामप्रति असन्तुष्टि जनाइरहेका छन्।
डा. शेखर कोइराला, विश्वप्रकाश शर्मा, गगन थापा, सुनिल शर्मा लगायतका नेताहरूले हालको सरकारले गरेका कामहरूको खुलेर विरोध गरिरहेका छन्।
ओली र देउवाले एकअर्कामा विश्वास देखाउन खोजिरहे पनि, प्रचण्डले “ओली सरकार एक वर्ष पनि टिक्दैन” र “नयाँ साल लागेपछि सरकार फेरिन्छ” भन्ने अभिव्यक्ति दिइसकेका छन्। उनले जुनसुकै बेला सरकार ढल्न सक्छ भन्ने दाबी समेत गरेका छन्।
एमाले नेताहरूले भने माओवादी अध्यक्ष प्रचण्डलाई “अस्थिर अडान र मौसमअनुसारको खेती गर्ने” नेता भनेका छन्। उनीहरूको भनाइमा, प्रचण्ड सत्ताबाट बाहिरिनु परेपछि छटपटीमा छन् र जस्तोसुकै उपाय अपनाएर एमाले र काङ्ग्रेसलाई छुट्याउने प्रयासमा छन्।
कांग्रेस–एमालेबीच खेल्दै गठबन्धन भत्काउने प्रचण्डको पुरानै शैली रहेको एमालेको आरोप छ। उनी अरू कसैसँग मिलेको देख्न नचाहने स्वभावका व्यक्ति भएको दाबी पनि गरिन्छ।
काङ्ग्रेस महामन्त्री गगन थापाले पनि प्रचण्डले काङ्ग्रेससँग सत्ता साझेदारीको प्रस्ताव गरेको जानकारी दिएका छन्।
व्यवस्थाविरुद्धको आक्रमण र राजावादी घेराबन्दीको लाभ उठाउने प्रयास प्रचण्डबाट भइरहेको नकार्न सकिन्न। त्यही कारण अहिले सरकारमाथि अन्य दल र नागरिकहरूको दबाब बढ्दो छ। जनतामा चरम निराशा र आक्रोश छ तर प्रधानमन्त्री ओली भने गालीगलौजमै समय खर्चिरहेका छन्। जनजीविकाका मुद्दामा सरकार तल्लीन नभएको आम जनताको बुझाइ छ। त्यसलाई चिर्न ओली सरकारले अब ध्यान दिनु अत्यावश्यक छ।
सरकारको कमजोरीकै आधारमा जनताले राजाप्रति सद्भाव देखाउँदै सडकमा उत्रिएका छन्। “राजा चाहिन्छ” भन्दा पनि सानासाना नेताहरूको राजसी ठाँटले जनतालाई पचेन। यही असन्तुष्टि राजतन्त्रप्रति देखिएको आकर्षणको कारण हो, जुन गणतन्त्रवादी नेताहरूले बुझ्न आवश्यक छ।
तिनकुने घटनालाई हेर्दा, त्यसमा सरकार पनि दोषी मान्न सकिन्छ। किनभने राजावादीहरूलाई कार्यक्रमस्थलमै पुग्न नदिई, राज्यले अवरोध गर्न खोजेको विभिन्न तथ्यले पुष्टि गर्छ।
अनाहकमा दुई जनाको ज्यान गएको र सयौं घाइते भएका तिनकुनेको घटना दु:खद थियो। त्यसमा दुवै पक्षको कमजोरी मान्न सकिन्छ।
राजावादीहरूले व्यवस्थाविरुद्ध धावा बोलेपछि, गणतन्त्रका पक्षधरहरू एक ठाउँमा उभिएर संयुक्त प्रतिकार गर्ने छलफल समेत सुरु भएको छ।
हालको राजनीतिक परिवेश हेर्दा गणतन्त्रमै चुनौती देखिएको छ। अब यो व्यवस्थाले जनसेवामुखी काम, भ्रष्टाचार नियन्त्रण, बेथिति अन्त्य र संघीयतालाई मजबुत बनाउन सरकार र विपक्ष दुबै लाग्नु पर्ने हो — तर त्यो भइरहेको देखिँदैन।
काङ्ग्रेस–एमाले नौ महिनादेखि सत्ता साझेदारीमा छन्। समयमै गठबन्धनको चेत नखुले परिस्थिति फेरिने निश्चित छ
