

शाङ्ग्रिला अर्फनेज होमले आफ्नो २५औं वार्षिकोत्सव गत वैशाख ६ गते ललितपुरमा सम्पन्न गरेको छ ।
विसं २०५५ सालमा तिलगङ्गाको एउटा सानो कोठाबाट ५ जना बालबालिका राखी शुरू भएको शाङ्ग्रिला २५औं वर्ष पूरा भइरहँदा चापागाउँमा आफ्नै आवासिय भवन र आफ्नै विद्यालय स्थापना गरी सञ्चालन गर्न सफल भएको छ ।
विपन्न तथा आमा बाबु नभएका साहराविहीन बालबालिकाहरूलाई विना भेदभाव जीवनका लागि चाहिने न्युनतम आवश्यकताहरू गाँस, वास, कपास, शिक्षा र स्वास्थ्यको उचित व्यवस्था गर्दै आएको शाङ्ग्रिला अर्फानेज होमका अध्यक्ष यमुना मरासिनीले कार्यक्रममा बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि ललितपुर क्षेत्र नं. १ का सांसद एवं पूर्वअर्थराज्य मन्त्री उदयशमसेर राणाले बालबालिकाको संरक्षण, शिक्षा र स्वास्थ्य क्षेत्रमा संस्थाले खेलेको भूमिका निकै प्रसंसनीय रहेको बताउनु भयो ।
संस्थाले आफ्नो २५औं वर्ष अर्थात् रजत महोत्सवका अवसरमा ‘शाङ्ग्रिला दपर्ण’ नामक स्मारिका विमोचन गरिएको थियो ।
स्मारिकामा शुरूवाती दिनदेखि सहयोग गर्दै आएका विदेशी दाताहरू, सरकारी तथा गैरसकारी संस्थाहरूको शुभकामना सन्देश, संस्थापक सदस्यहरू, कर्मचारी प्रतिनिधिहरूको भोगाइ तथा अनभव र शाङ्ग्रिला अर्फनेज होमबाट आवासीय तथा गैर आवासीय छात्रवृति सहयोग प्राप्त गरी विभिन्न पेशामा काम गदैं आएका युवाहरूको सफलताका कथाहरू समावेश गरिएको छ ।
कार्यक्रममा शाङ्ग्रिला अर्फनेज होमका सचिव दधिवल थापाले शाङ्ग्रिलाले अनाथ तथा सहाराविहीन बालबालिकाको संरक्षण गर्ने साथै सामाजिक विकासका काम, सडक मर्मत, खानेपानी, वृक्षारोपण तथा महामारीको समयमा आवश्यकता अनुसार स्थानीय स्तरमा सहयोग गर्दै आएको बताए ।
कार्यक्रमा राष्ट्रिय बालअधिकार परिषद्का सदस्यसचिव इन्दिरादेवी ढकाल, गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, गोदावरी वडा नं. १० का वडाध्यक्ष शेखर न्यौपानेलगायतले रजत महोत्सवको शुभकामना व्यक्त गरेका थिए ।
त्यसैगरी गोविन्द फाउण्डेशन जर्मनका कार्यकारी निर्देशक बबेट मिल्लेरले नेपालका लागि सहयोग गर्न पाउँदा आफूहरू निकै भाग्यमानी भएको बताएकी थिइन् । गोविन्द एसोसिएसनका संस्थापकद्वय रोक्को र रमनले भिडियो सन्देश मार्फत रजत महोत्सवको शुभकामना दिएका थिए ।
कार्यक्रममा शाङ्ग्रिला अर्फनेज होम तथा शाङ्ग्रिला इन्टरनेशनल विद्यालयका बालबालिकाहरूले प्रतिभा प्रस्तुत गरेका थिए ।
यस होममा हाल ३२ जना बालबालिकाले आश्रय पाइरहेका छन् ।
कार्यक्रम संस्थाका सल्लाहकार तथा रजत महोत्सव कार्यक्रम संयोजक नीता शाहीको संयोजकत्वमा सम्पन्न भएको थियो ।
