नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ वैशाख ।


भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ । भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो ।
भारतले गएराति पाकिस्तानका ९ ठाउँमा आक्रमण गरेको हो । आक्रमणमा ३० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
यो कारबाही अप्रिल २२ मा भारत-नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ।
भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमण पूर्णरूपमा लक्षित र सटीक थियो। केवल चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको हो।”
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गर्नुभयो र बलियो जवाफ दिने चेतावनी दिनुभएको छ।
संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ। उसले भनेको छ, “दुई आणविक शक्तिहरूबीच युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ।”
