नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ जेठ ।


भारतका दर्जन बढी राज्यहरुमा कोरोना भाइरस सङ्क्रमण फैलिइरहँदा यसको असर नेपालमा पनि देखा परेको छ । लामो समयको अन्तरमा नेपालमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का निर्देशक डा. चन्द्रभाल झाले नियमित परीक्षण गर्दा सातजनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । सङ्क्रमितहरुको स्वास्थ्य सामान्य रहेको छ ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपाल लगायत अन्य देशमा देखिएको कोरोना सामान्य रहेको जानकारी दिंदै भन्नुभयो, “अहिले देखिएको कोरोना सामान्य रुघाखोकी जस्तै भइसकेको छ। दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती, बालबालिकालाई भने विशेष ख्याल गर्नुपर्छ।”
डा. पुनले ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, दीर्घ रोगीलाई कोरोना सङ्क्रमण भएमा गम्भीर लक्षण देखिन सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभएको छ।
नेपालमा थप कोरोना संक्रमित फैलन नदिन सीमा नाकामा हेल्थ डेस्क राखेको जानकारी दिंदै झाले भन्नुभयो, “सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छौँ। आवश्यक परेमा परीक्षण किट तुरुन्तै पठाउने तयारी छ।’’
यसबीच विश्व स्वास्थ्य संगठनले विभिन्न देशमा देखिएको कोरोना कडा नभएकाले नआत्तिन आग्रह गरेको छ। कोरोना फैलन नदिन भीडभाडमा जाँदा पहिलेको जस्तै जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।
