सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सप्तरी, शम्भुनाथ नगरपलालिका-१ गोविन्द चोकस्थित सडकमा स. १ त ४९७२ नम्बरको ट्याक्टरले प्र.२-०१-००१ प ३१३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रूपनी गाउँपालिका-१ रूपनी बजार बस्ने २५ वर्षीय मो.आजद मिँयाको मंगलबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको थप उपचारको लागि धरान घोपा सुनसरीतर्फ पठाइएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै धनुषा, सबैला नगरपालिका-१२ बरकुरूवास्थित सडकमा मधेश प्र.०१-००४ प ३४३४ नम्बरको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा चालक जनकनन्दिनी गाउँपालिका-२ बस्ने २५ वर्षीय नुरे शेखको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै सुनसरी, इटहरी उपमहानगरपालिका-२० सेउती पुल नजिकै सडकमा प्रदेश १-०२- ०५२ प ३५६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका-१ हासँपोसा बस्ने धनकुटा पाख्रिवास नगरपालिका-४ घर भएकी ४५ वर्षीय हिरा मेघालेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको आर्य न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार