नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ असार ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर मदनभण्डारी पेप्सीडिपो नजिक सडकमा बा.प्र ०२-०३७ प ६८२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २५ वर्षीय पवन पराजुलीको मृत्यु भएको छ ।
शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको राष्ट्रिय ट्रामा सेन्टरमा उपचार भइरहेको छ ।
त्यस्तै रूपन्देही, मायादेवी गाउँपालिका-७ गरगट्टीस्थित सडकमा लु.२ ख २४७४ नम्बरको टिपरले लु.४० प २३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सम्मरीमाई गाउँपालिका-५ रोहिनिहवा बस्ने २० वर्षीय समिर खान र मोटरसाइकलमा सवार कोटहीमाई गाउँपालिका-७ बस्ने १८ वर्षीय शिवनाथ ठाकुरको शनिबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ । यस्तै पर्सा, बहुदरमाई नगरपालिका-५ पटनीस्थित सडकमा बिआर ०१ पिए ४४०९ नम्बरको सुमो र बागमती प्रदेश ०२-०३० प ६७७८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भारत पुर्वी चम्पारण बस्ने ३८ वर्षीय नरेश साह बर्णवालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार सुमो चालकको खोजी गरिरहेको छ ।
उता सुर्खेत, चौकुने गाउँपालिका-६ स्थित सडकमा क.प्र.०२-००१ त ०२८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार पञ्चपुरी नगरपालिका-८ बस्ने ५२ वर्षीय राजु रसाइली र ६८ वर्षीय भगत सिंह विकको मृत्यु भएको छ । शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र साल्कोटमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका चालक समेत ५ जनाको सोही स्वास्थ्य केन्द्रमा र ३ जनाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
