सशस्त्र प्रहरी सहायक निरीक्षक बनाइदिने भन्दै ठगी गर्ने पक्राउ

सशस्त्र प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बनाइदिने भन्दै रु चार लाख ९१ हजार ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१५ बस्ने ४७ वर्षीय सोमकौशिक क्षेत्री रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “निजले सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालीदिन्छु भनि पिडीतलाई आफुले दिएको ई–सेवा नम्बर तथा विभिन्न बैंक खातामा जम्मा रु चार लाख ९१ हजार जम्मा गर्न लगाइ ठगी गरी फरार भएकामा काठमाडौँ जिल्ला अदालत बबरमहलबाट पक्राउ पुर्जी जारी भएकाले क्षेत्रीलाई पक्राउ गरिएको हो ।”

निजलाई काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा फेला पारी ठगी सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

सम्बन्धित समाचार