यात्रासंस्मरण : हिउँसँगको लुकामारी
कोपिला ढकाल
काठमाडौं, १३ असार ।
ठूलो रहरले मात्र हामीलाई त्यहाँ पुग्न सम्भव भएको थियो । वषौँदेखिको स्वप्निल यात्रा पूरा गर्दै त्यसदिन हामी डाँडापखेराससँग लुकामारी गर्दै हिउँलाई चुम्न दामन पुगेका थियौँ । त्यो अविस्मरणीय यात्रा मेरो मानस पटलमा आज पनि त्यत्तिकै ताजै छ ।
बहाना पिकनिकको थियो । हामी बीए दोस्रो वर्षमा पढ्दै गरेका करिब ४०/४५ जना जति साथीहरु बिहान ७.३० बजेतिर आरआर क्याम्पसको गेट अगाडि जम्मा भएर एउटा रिजर्व गरिएको बसमा चढी दामनका लागि प्रस्थान ग¥यौं । थानकोट, नौबिसे हुँदै पालुङ पुग्दा बिहानको ११ बजेको हुँदो हो । पालुङमा हल्का चियानास्ता गरेर हामी पुनः गन्तव्यतिर प्रस्थान ग-यौं । पहाडको उक्काली र आह्राली गर्दै दिउँसो करिब १ बजेतिर हामी दामन पुग्यौं । करिब ४/५ घण्टाको पट्यार लाग्दो बसको यात्रा पनि हामीलाई रोमाञ्चक लागिरहेको थियो । किनकि त्यो दिन हाम्रो वर्षैको सपना पूरा हुँदै थियो ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण दामन मकवानपुर जिल्लामा पर्दछ । समुन्द्र सतहबाट ७,६२० फिटको उचाइमा रहेको दामन क्षेत्र पर्यटकीय दृष्टिकोणले एउटा महत्वपूर्ण ठाउँ हो । हिउँद र वर्षाका दुबै समयमा हिउँका फूलहरूले ढकमक्क ढाकिने यो क्षेत्र वास्तवमैँ प्राकृतिको सुन्दर उपहार हो । एकपल्ट त्यस ठाउँको अवलोकन गर्न पुगेको मान्छे पुनः पुनः त्यस ठाउँमा गइरहन चाहन्छन् । आफ्नै देशको यस्ता रमणीय स्थानमा पुग्न नसक्नु हामी नेपालीहरूकै दुर्भाग्य हो ।
दामनका बारेमा मैले यस्तै कुरा सुनेकी हुन्छु । यिनै भनाइहरूको प्रभावले हामीले पिकनिककै बहानामा भए पनि एकपल्ट दामनलाई स्पर्श गर्ने निर्णय गरी यो भ्रमणको बन्दोबस्त मिलाएका थियौं । त्यसैले हामी दामन स्पर्श गर्न बढी नै लालयित थियौं । बस लगातार अगाडि बढिरहेको थियो । हातमा लालीगुराँस बोकेर पहाडका थुम्काहरु बाटोका दायाँबायाँ हामै्र स्वागतका लागि उभिइरहेका जस्ता देखिन्थे ।
बसको ढोकाबाट दामनको धर्तीमा खुट्टाको स्पर्श हुनासाथ मेरो शरीर रोमाञ्चित बन्यो । आहा, कति रमणीय स्थल, कति मनमोहक दृश्यहरु, प्राकृतिक सुन्दरतालाई यति नजिकबाट अवलोकन गर्ने अवसर नपाएर होला, त्यहाँ वरिपरिको मनोरम दृश्यले हामी सबै लठ्ठ भयौं । हामीलाई खाजा खानतिर त्यति ध्यान नै गएन बरु आ–आफ्नो मोबाइल निकालेर त्यहाँबाट देखिने मनोरम हिमश्रृङ्खलाको फोटो खिच्नतिर लाग्यौं ।
हामी हिउँको स्पर्श गर्न लालयित थियौं, अतः हल्का नास्ता गरेर हामी बस रोकिएको ठाउँबाट केही पर हिउँले सेताम्य भएको ठाउँतिर गयौं । अघिल्लो दिनको सिमसिमे पानीले त्यहाँका पहाड–पर्वतलाई हिउँले छपक्क ढाकेको थियो । हामी जति जति हिउँको नजिक पुग्दै जान्थ्यौं, चिसो सिरेटो शरीरभित्र पसेर हामीलाई त्यति त्यति नै काउकुती लगाउँथ्यो । चिसो सिरेटोले जतिसुकै काउकुती लगाएर जिस्काउन खोजे पनि हामी निरन्तर अगाडि बढ्दै गयौं । हामीलाई अलिअलि होइन, अँगालोभरिको हिउँ चाहिएको थियो । हत्केलाभरिको हिउँ होइन, लडिबुढि गर्ने हिउँ चाहिएको थियो । प्रकृतिको मनोरम दृश्य देखेर प्रेमिल बनेको हाम्रो युवा मन हामीलाई छोडेर हिउँका अग्ला अग्ला चुचुराहरूमा पुगेर स्केटिङ खेल्न थालिसकेको थियो ।
बलिउड र हलिउड सिनेमाका कतिपय दृश्यहरुले हामीलाई चुनौती दिएजस्तो लाग्थ्यो । ती सिनेमाहरुमा देखाइने सेताम्य हिमश्रृङ्लाहरुका मनमोहक दृश्य देख्दा हाम्रै देशमा यस्ता दृश्य कति छन् कति तर हामीले आफ्नो देशलाई कहिल्यै महत्व नदिएर त्यसको सौन्दर्यपान गर्नबाट हामी वञ्चित भएका हौं जस्तो लाग्थ्यो । त्यही भएर पनि दामनलाई हामीले पिकनिक स्थलका रुपमा छानेका थियौं । पिकनिकका निउँले हामी प्रकृतिको सन्निकट पुगी त्यसको सौन्दर्यलाई आँखाभरि र मुटुभरि भरेर ल्याउन चाहन्थ्यौं ।
लामो समयदेखिको रहर पूरा भएकोले विशेष रुपमा म रोमाञ्चित बनेकी थिएँ र साथी संचितालाई उक्साउँदै उसलाई लिएर धेरै हिउँ भएतिर जाँदै थिएँ । अरु साथीहरु पनि आफ्ना आफ्ना जोडी बनाएर कोही छेउतिरै रमाउँदै थिए भने कोही हामीलाई नै चुनौती दिँदै अगाडि बढिरहेका थिए ।
हामी कहिले हातमा हिउँको डल्ला बनाउँदै एकले अर्कोलाई हान्थ्यौं भने कहिले झुक्याएर हिउँको डल्लो साथीको लुगाभित्र छिराइदिएर मज्जाले हाँस्थ्यौं । कहिले एक अर्काको हिउँमा खेलिरहेको फोटो खिच्थ्यौं भने कहिले सेल्फी हान्थ्यौं । कहिलेकाहीं त मोबाइल नै चिप्लेर हिउँमा खसेर हराएजस्तो हुन्थ्यो तर भेटिन्थ्यो । हिउँसँगको रमाइलो खेल न बोकेर ल्याउन सकिने, न छोडेर हिँड्न सकिने । हिउँसँग खेल्ने धित नमरिकनै साथीहरुले बोलाउन थाले । नचाहँदा नचाहँदै हिउँको काखबाट हिड्नु प-यो ।
हिउँको चिसो र चिप्लोले जुत्ता च्यातिएर बोक्नु परेको बिजोकलाई पनि त्यहाँको रोमाञ्चक वातावरणले भुलाइदियो । एक साथीको त खुट्टा मर्किएछ पनि । एउटी साथीले कानको एउटा टप हिउँलाई उपहार दिएर आइछ । जसको जे नोक्सानी भए पनि हामी कोही दुखी थिएनौं । बरु हामी सबैलाई लागि रहेको थियो– प्रकृतिसँग यति नजिक भएर साक्षत्कार हुन अवसर अब कहिले पाइएलर र ?
अपरान्ह ४.३० बजेतिर खाना खाएर हामी सबै फर्किने तरखरमा लाग्यौं । बाटो लामो नभइदिएको भए आँखा देखुञ्जेल त्यहाँबाट हिँड्न मन थिएन । तर पनि जति हेरे पनि नअघाइने र जति लेखे पनि नसकिने दामनको सौन्दर्यलाई गुड–बाई भन्न हामी बाध्य भयौं । हामी नेपालीहरूको भ्रमण गर्ने चरित्र नभएर होला, काठमाडौंबाट पनि खास्सै टाढा नरहेको यस्तो प्राकृतिक सौन्दर्यको भण्डारको अवलोकन गर्नबाट हामी आजसम्म वञ्चित थियौं । पिकनिकको बहानामा भएको यो यात्रा मेरो मनमा लामो समयसम्म अविस्मरणीय रहने छ ।।
२०७२/११/२३