नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ साउन ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । हुम्लाको सिमकोट गाउँपालिका-१ बैजीबाडास्थित सडकमा दोजामदेखि खार्पुनाथतर्फ जाँदै गरेको क.प्र.०२-००१ त ३५३ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार खार्पुनाथ गाउँपालिका-२ बस्ने २८ वर्षीय मिलन बोहोराको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुम्लामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १२ जना मध्ये ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ४ जनालाई थप उपचारको लागि सुर्खेत रिफर गरिएको छ ।
त्यस्तो दाङको गढवा गाउँपालिका-२ महादेवा पुलस्थित सडकमा गोबरडिहाबाट सिसहनियातर्फ जाँदै गरेको रा.२ प ६२६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बेलुकी दुर्घटना हुँदा चालक राप्ती गाउँपालिका-३ मसुरीया बस्ने ४३ वर्षीय खेम बहादुर पुनको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-१ भगवानपुरस्थित सडकमा कक्रहवाबाट लुम्बिनीतर्फ आउँदै गरेको युपि ५५ एबि ३६६७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार कपिलवस्तु शुद्धोधन गाउँपालिका-५ बस्ने १४ वर्षीय राहुल पण्डित भन्ने गोबिन्द शुक्लाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका २ जना साइकलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी रूपन्देहीको मायादेवी गाउँपालिका-६ वेथरी पुलस्थित सडकमा लु.८३ प ७६६७ नम्बरको मोटरसाइकललाई बा. १७ च ५८९९ नम्बरको स्कारपियोले शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सम्मरीमाई गाउँपालिका-६ बस्ने २० वर्षीया सिमा प्रजापती कहारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता रौतहटको गरुडा नगरपालिका-८ जिगडियास्थित सडकमा बिआर ३० यु ४४१४ नम्बरको मोटरसाइकललाई ना.५ च १५८ नम्बरको पिकअपले ठक्कर दिँदा मोटरसाइकल चालक माधवनारायण नगरपालिका-३ बस्ने ४० वर्षीय दिनानाथ साहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बेटर नेपाल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको अनामिका हस्पिटलमा उपचार भइरहेको छ । हाल फरार पिकअप चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

