नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ साउन ।


देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ गरेको छ । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङको निलकण्ठ नगरपालिका-३ बस्ने १९ वर्षीय अमृत जंग मल्ल समेत दुई जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको टीकापुर नगरपालिका-४ मौरनिया बस्ने ५० वर्षीय रामकृष्ण चौधरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

