

गाउँका एक जना युवा निकै प्रयास पछि अमेरिका पुगे । परिवार आफन्त र समाज सबै खुसी भए । ती युवक पढेलेखेका थिए, सिपालु र मेहनती थिए । राम्रै काम पाए । मेहनत गरे । पैसा कमाउन थाले । कमाएको पैसा घर पठाउन थाले ।
उनले नेपालमा पनि घरघडेरी जोडे। दाजुहरूलाई पनि व्यापार-व्यवसाय खोलिदिए। बुबाआमालाई सुख दिए । तीर्थयात्रा गराए । भतिजा भतिजीहरूको बिहे गर्न सहयोग गरे। आवश्यक परेका बेला आफन्तहरूलाई पनि सहयोग गरे।
उनले केही सामाजिक काम पनि गरे। अब बिस्तारै पहिला कहिल्यै नजोडिएका मान्छेहरू पनि मोबाइल र सामाजिक सञ्जालमार्फत जोडिन थाले । उनी सबैका प्रिय बने । साथीभाइ र आफन्तहरूले ‘हाम्रो कृष्णे त अमेरिका छ’ भन्दै गर्व गर्न थाले।
विस्तारै धेरैका फोन र सन्देशहरू आउन थाले। पैसाको र अनेकौँ कुराको माग हुन थाल्यो। सकेसम्म पुरा गरिदिँदै पनि गए। कसैलाई ‘नाई’ भन्न सकेनन् । उनी अरुलाई दिनुमा नै खुसी थिए । उनी निरन्तर काम गरिरहे । पैसा नेपाल पठाइरहे ।
एक दिन अचानक कसैलाई खबर नगरी उनी नेपाल फर्किए। अकस्मात् किन आइस् भनेर बुबाआमा र आफन्त सबैले सोधे ।
उनले शान्त स्वरमा जवाफ दिए- ‘म डिपोर्टको प्रक्रियामा परें, अनि आफैँ अमेरिका छाडें।’ सबै चुप! बरु, सान्त्वना स्वरूप झ्याउलो मानेको झैं रुखो लाग्ने किसमिको सहानुभूति दिएझैं गरे ।
समय बित्दै गयो । केही महिनामा खर्च गर्ने पैसा सकियो । दाजुहरूलाई समस्या सुनाए । दाजुहरूले भने- ‘हामीले कति दुःख गरेर व्यवसाय गरेका छौं, हाम्रै समस्या छन् । अहिले पैसा छैन।’
भाउजूहरूले पनि कोठा साँघुरो भएको भन्दै झन्झट मानेझैं व्यवहार गर्न थाले। पहिले पहिलेझैं खान पनि बोलाउन छाडे । आफन्त र साथीभाइलाई कतै भेट्दा पनि अर्कैतिर फर्कन थाले । आफन्त र साथीभाइका फोन र मेसेज पनि आउन छाडे। उनी नितान्त एक्ला भएकाजस्ता भए …सबैका अप्रिय ।
एक दिन सबैजना भेला भएका बेला उनले भने- ‘म डिपोर्ट भएको होइन । म त तिमीहरूलाई बुझ्न नेपाल फर्केको थिएँ ।’
उनका कुराले सबै स्तब्ध भए । एकआपसमा मुखामुख गर्न थाले । उनले गम्भीर मुद्रामा दुःखी हुँदै भने ‘अब म अमेरिका फर्कन्छु, कहिल्यै नआउने गरी । किनभने अब मलाई थाहा भयो, मसँग डलर हुँदा तिमीहरू मेरा थियौ । डलर सकिएपछि तिमीहरू मेरा हुन सकेनौं । हाम्रो सम्बन्ध त गोजीमा डलर हुँदासम्म मात्र रहेछ । यहाँ आएर मैले यही सिकें ।’
उनले थपे– ‘हिजौका दिन मैले अमेरिका पुगेर रातदिन केही नभनी घरपरिवारको उचित व्यवस्थापन हुन सकोस भनेर खटेँ । जति कमाएँ, यतै पठाएँ । हिजो यहाँको अवस्था कस्तो थियो, अहिले कस्तो भयो ? त्यसको गुन कसैले देखेन । बरू डलर सकिएको अनुभूति हुने बित्तिकै तिमीहरूको व्यवहार कस्तो भयो ? तिमीहरूले पनि मलाई सिकायौ । र, अब म आफू स्वतन्त्र भएर अमेरिका फर्किन्छु र आफ्नो लागि बाँच्छु । म आफ्नो जीवन बाँच्छु l’
हाल– टेक्सास, अमेरिका
