नवकान्तिपुर संवाददाता
काठमाडौं, २० साउन ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका-७ जोगिटोलस्थित सडकमा प्र.३-०१-००६ ख ०५६१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री रौतामाई गाउँपालिका-७ बस्ने ७२ वर्षीय टंक बहादुर लामिछाने मगरको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका ट्रकका सहचालकलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ दौत्य खोलास्थित प्र.२-०१-००१ ज ००५३ नम्बरको विङ्गर गाडी अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा गाडीमा सवार सिराहा नराह गाउँपालिका-५ बस्ने ३० वर्षीया ममता देवी यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको कटारी अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ८ जनाको ट्रमा सेन्टर काठमाडौं र दुई जनाको नर्भिक अस्पताल थापाथली काठमाडौंमा उपचार भइरहेको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै डडेल्धुराको अजयमेरू गाउँपालिका-१ पुईलेक कासिपुरस्थित सडकमा हाल नम्बर प्लेट नभएको मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा चालक सोही गाउँपालिका-२ बस्ने ४५ वर्षीय गणेश भट्टको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

