यातायात व्यवस्था कार्यालयका पौडेलविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीका कार्यालय सहयोगी दीपक पौडेलविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गेको छ ।

निज कार्यालय सहयोगी (करार) पौडेलले सवारीचालक अनुमतिपत्रको ‘अनलाइन’ फाराम भरी दिने, लिखित परीक्षामा उत्तीर्ण गराई ‘ट्रायल’ परीक्षामा समेत पास गरिदिने भनी सेवाग्राहीसँग घूसबापत रकम माग गरेको भन्ने उजुरीका आधारमा आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निजलाई सेवाग्राहीसँग रु सात हजार घूस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उक्त विषयको अनुसन्धानको सिलसिलामा निज कार्यालय सहयोगी पौडेलले सवारीचालक अनुमतिपत्रको अवधि नपुगी अनलाइन फाराम भरी दिने, लिखित परीक्षामा पास गरिदिने र ट्रायलमा समेत सहयोग गर्ने भनी बदनियत राखी सेवाग्राहीबाट रु सात हजार घूस÷रिसवत माग गरी लिएको पुष्टि भएको हुँदा निजविरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।”

पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु सात हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगोबमोजिम जरिवाना सजाय हुन मागदावी लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सम्बन्धित समाचार