नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ साउन ।


वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने बारा निजगढ नगरपालिका-१२ घर भएका ४१ वर्षीय राम बहादुर थिङ र भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने रामेछाप, रामेछाप नगरपालिका-३ घर भएका ३७ वर्षीय चन्द्र बहादुर सुवेदी रहेका छन् ।
पक्राउ मध्ये राम बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै छ जना पीडितहरूबाट २९ लाख रूपैयाँ र चन्द्र बहादुरले हंगेरी पठाइदिन्छु भन्दै एक जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बाट राम बहादुरलाई मंगलबार र चन्द्र बहादुरलाई बुधबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
