नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ साउन ।


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका-१० सिस्नेपुलस्थित सडकमा ना.५ ख ८४१७ नम्बरको ट्रकले लु. ५५ प ३१३४ नम्बरको स्कुटरलाई ठक्कर दिई आइतबार दिउँसो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा स्कुटर चालक कावासोती नगरपालिका-३ बस्ने ५२ वर्षीय दल बहादुर सुनार बिक र ट्रक चालक बारा परवानीपुर गाउँपालिका-१ बस्ने ३५ वर्षीय रिजवान मिँया रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सरकारी अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै मुस्ताङको घरपझोङ गाउँपालिका-३ स्याङस्थित सडकमा ग.१ त ७५०२ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक बाग्लुङ निसीखोला गाउँपालिका-५ बस्ने ३० वर्षीय शेर बहादुर घर्ती मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै प्युठानको झिमरुक गाउँपालिका-८ गब्दीस्थित सडकमा लु.१ ख ८८३७ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीय रामु गिरीको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता सर्लाहीको हरिवन नगरपालिका-२ पाकड गाछीस्थित सडकमा म.प्र.०२-००८ प २७५३ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका-२ अत्रौली टोल बस्ने जितेन्द्र महतोको छोरा २ वर्षीय रियान्स महतोको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेज वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यता चितवनको रत्ननगर नगरपालिका-५ ज्वाँनीस्थित सडकमा ग.प्र.०३-०३७ प ८९५१ नम्बरको स्कुटर गए राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ बस्ने ४८ वर्षीय राजु उदासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी रूपन्देहीको तिलोत्तमा नगरपालिका-५ स्थित सडकमा लु.४६ प ८२९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-१४ तीनधुरा बस्ने २० वर्षीय खेम भुसालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको छ ।
त्यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित सडकमा मे.१ ख १७९९ नम्बरको बस र प्र.२-०१-००१ ज ००४७ नम्बरको विङगर गाडी एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा सप्तरी घर भएका ३५ वर्षीय शंकर मण्डल, सुनसरी कोशी गाउँपालिका-६ बस्ने ७० वर्षीय लक्ष्मण सदा तथा हाल नाम, थर र वतन नखुलेकी ४० वर्षीया महिला र एक जना पुरुष रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका शंकर समेत तीन जनाको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पतालमा तथा १ जना महिलाको जिल्ला अस्पताल ईनरूवामा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
