पर्यटक भित्र्याउन सेल्स मिसनहरु बढी प्रभावकारी : २० वर्षको तथ्याङ्क विश्लेषणको निचोड

नेपाल पर्यटन बोर्ड र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागको संयुक्त आयोजनामा नेपाल पर्यटन बोर्डको हलमा आज ‘ईम्प्याक्ट अफ टुरिज्म प्रमोशन ईन नेपाल’ शीर्षकमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मुख्य प्रस्तोता डा. सुशील अवालेले हालै त्रिवि व्यवस्थापन संकायबाट आफ्नो विधावारिधि शोध सम्पन्न गरी उपाधि हासिल गर्नु भएको हो । करिब ४ वर्षको शोध अनुसन्धानमा डा. अवालेले विभिन्न देशबाट नेपाल घुम्न आएका ४०० पर्यटक लगाएत पर्यटन व्यवसायी, पर्यटन बोर्डका कर्मचारी तथा पदाधिकारी समेत गरी ५०० ब्यक्तिहरुबाट संकलन गर्नु भएको तथ्याङ्क तथा विगत २० वर्षको पर्यटन उद्योग सम्बन्धि तथ्याङ्क विवरणको विश्लेषण अनुसार विदेशमा गरिने बिक्री प्रबद्र्धन (सेल्स मिशन) नेपालमा पर्यटक भित्राउन बढि प्रभावकारी रहेको पाइएको छ ।



कार्यक्रममा स्वागत भाषण गर्दै पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक जोशीले ‘नेपालमा पर्यटनको अथाह स्रोत र सम्भावनाहरु भए पनि विविध सिमितताहरुका कारण पहिचान र प्रबद्र्धन गर्न कठिनाई परिहेको कुरा बताउनु भयो ।
त्यसै गरी मुलुकको पर्यटन क्षेत्र रोजगारीको ठूलो सम्भाव्यता रहेता पनि यस क्षेत्रमा देखा परेको दक्ष जनशक्तिको अभाव परिपूर्ति गर्नका लागि त्रिवि व्यव्स्थापन संकाय अन्तर्गत स्नातक तथा स्नाकोत्तर तहमा छ वटा विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन भइसकेको कुरा त्रिवि व्यवस्थापन संकायका सहायक डिन प्राडा दिलीप पराजुलीले बताउनु भयो ।

कार्यक्रममा मुख्य टिप्पणीकारका रुपमा अग्रज पर्यटन व्यवसायी तथा अध्येता विजय अमात्यले ‘हिमालका लागि मात्र पर्यटक नेपाल नआउने तर यातयातका कारण पर्यटनका लागि नेपाल सस्तो गन्तब्य नभएकोले नेपालको मौलिक परम्परा तथा सांस्कृतिक सम्पदाहरुहरुलाई प्रविधिको प्रयोग गरी प्रशारण गर्न सके पर्यटन प्रवद्र्धनमा अझ प्रभावकारी हुने कुरा बताउनु भयो ।

पर्यटन सम्बन्धी २० भन्दा बढी व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको सो कार्यक्रममा यस्तो किसिमको छलफल तथा अन्तरक्रियाले व्यवसायिक विषयहरुको शोध अनुसन्धान गर्न प्रोत्साहन गर्नुका साथै सोबाट प्राप्त हुो निष्कर्षले व्यवसायलाई पनि प्रभावकारी रुपमा विकास तथा प्रवद्र्धन गर्न सहयोग पुग्ने कुरा काठमाण्डौं विश्वविद्यालयमा व्यवस्थापन विषयका प्राडा विनोदकृष्ण श्रेष्ठले बताउनु भयो ।

डा. अवालेले नेपाल घुम्न आउने पर्यटकहरुको उमेर समूह, रुचि, बसाइको अबधि, खर्च गर्ने रकम लगायत २४ वटा विभिन्न विषयहरु माथि गरिएको शोध अनुसन्धानसँग सम्बन्धित निष्कर्शहरु प्रस्तुत गर्नुका साथै सहभागीहरुबाट उठेका जिज्ञासाहरुको जवाफ दिनु भएको थियो ।

कार्यक्रको अन्त्यमा नेपालको प्रवद्र्धन भए पर्यटनको प्रवद्र्धन स्वत हुने कुरा बताउँदै नेपाल पर्यटन बोर्डका कार्यबाहक मार्केटिंग प्रमुख सुनील शर्माले सहभागीहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

सम्बन्धित समाचार