सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । म्याग्दीको वेनी नगरपालिका-२ हाडेभिरस्थित सडकमा खवराबाट वेनीतर्फ आउँदै गरेको ध.२प ६९६ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने किशोर परियारको छोरा ५ वर्षीय केविन परियारको मृत्यु भएको छ ।

शनिबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पताल पोखरामा थप उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरस्थित सडकमा बा.प्र.०२-०४५ प ५५९७ नम्बरको मोटरसाइकल र बा.प्र.०३-००५ प ९०६९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई ना.७ ख ५०१० नम्बरको बसमा समेत ठक्कर खाएर शनिबार दिउँसो दुर्घटना हुँदा बा.प्र.०३-००५ प ९०६९ नम्बरको मोटरसाइकलमा सवार पर्सा वीरगंज महानगरपालिका-१३ मुर्ली बस्ने ४३ वर्षीया कविता जोशीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बा.प्र. ०३-००५ प ९०६९ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बा.प्र.०२-०४५ प ५५९७ नम्बरको मोटरसाइकल चालक र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सप्तरीको बोदेबरसाइन नगरपालिका-७ मुसहरी टोलस्थित सडकमा देउरीबाट बोदेबरसाइनतर्फ आउँदै गरेको अन टेष्ट लेखिएको ईरिक्साको ठक्करबाट भारत बिहार मधुवनी ग्राम पंचायत निन्दरपुर घर भएका राज कुमार सदायको छोरा ५ वर्षीय आरजे सदायको शनिबार साँझ मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । ईरिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता दाङको गढवा गाउँपालिका-१ धोर्देस्थित सडकमा ना.८ ख ८२५९ नम्बरको टिपर र लु.३९ प ८३९० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार प्युठान ऐरावती गाउँपालिका-५ बस्ने २० वर्षीय सुशिल थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भालुवाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार