नवकान्तिपुर संवाददाता
वीरगञ्ज (पर्सा), १० भदौ ।


वीरगञ्ज महानगरपालिकाले यहाँ देखिएको हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय गरेको छ ।
महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले आज बसेको नगर प्रमुखस्तरीय बैठकको निर्णयानुसार भदौ ११ देखि १३ गते शुक्रबारसम्मका लागि बिदा दिइने बताउनुभयो । त्यस अवधिमा महानगरअन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरिएको उहाँले जानकारी दिनुभयो ।
महानगरले बिदा अवधिमा शिक्षक तथा कर्मचारीहरूको टोली बनाई विद्यालय सेवा क्षेत्रभित्र रहेका समुदायमा हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यहरू सञ्चालन गर्न शिक्षक तथा कर्मचारीलाई परिचालन गर्न गराउन अनुरोध गरेको छ ।
यसअघि यहाँ आइतबार र सोमबार बिदा दिइएको थियो ।
