सवारी दुर्घटनामा दुई जनाको मृत्यु

रूपन्देही र ललितपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ देवीनगरस्थित सडकमा रंगशाला पथबाट मगरघाटतर्फ जाँदै गरेको लु.३७ प ७३८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७४ वर्षीय किसन श्रेष्ठको बुधबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै ललितपुरको गोदावरी नगरपालिका-६ टिकाभैरव पुलस्थित सडकमा प्रदेश.३-०१-००५ ख ९३४६ नम्बरको बसबाट खसेर सोही ठाउँ बस्ने ४५ वर्षीया गीता तिमल्सिनाको मृत्यु भएको छ ।

मंगलबार बसबाट खसेर गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार