नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ भदौ ।


म्याग्दी र दाङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । म्याग्दीको बेनी नगरपालिका-८ पुरानो रोडस्थित सडकमा मुस्ताङबाट पोखरातर्फ जाँदै गरेको बिएए २६३४ नम्बरको जिपको ठक्करबाट पैदलयात्री पर्वत जलजला गाउँपालिका-७ बस्ने कमल सुनारको छोरा तीन वर्षीय रियास सुनारको शनिबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल म्याग्दी बेनीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै दाङको लमही नगरपालिका-१ सुनडबरीस्थित सडकमा रा.७ प ८७६३ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय गर्भु चौधरीको शनिबार राति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेज रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
