जेनजीलाई संयमित हुन र सेनासँग वार्ता गर्न तयार रहन बालेनको आग्रह

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले प्रदर्शनमा संलग्न ‘जेनजी पुस्ता’लाई संयमित रहन अपिल गर्नुभएको छ ।

महानगर प्रमुख बालेनले सामाजिक सञ्जाल (फेसबुक) मार्फत सोमबारदेखि मुलुकभर सुरु भएको आन्दोलन ‘जेनजी पुस्ता’को भएको स्पष्ट पार्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आइसकेकाले प्रदर्शनकारीलाई संयमित रहन आग्रह गर्नुभएको हो ।

त्यस्तै मेयर साहले जेनजीहरूलाई नेपाली सेनाको प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गर्नुभएको छ । त्यस्तै, बालेनले सेनासँग वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्ने पनि बताउनुभएको छ ।

“हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो । प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !! देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला ! साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनुपर्छ” उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

सम्बन्धित समाचार