हेटौंडाको अधिकांश सरकारी कार्यालयमा आगजनी

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले मंगलबार मकवानपुरको हेटौँडास्थित अधिकांश सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेका छन् ।

आन्दोलनका क्रममा प्रदर्शनीहरूले हेटौँडास्थित बागमती प्रदेश मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रदेश प्रमुख कार्यालय बाहेका प्रदेश सरकारका सबै १० वटा मन्त्रालयको भवन, प्रदेशसभा भवनमा तोडफोड र आगजनी गरेका छन् ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शनकारीहरूले प्रदेश प्रमुख सचिवको निजी निवास, सरकारी वकिलको कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय उच्च अदालत पाटन हेटौँडा इजलास, हेटौँडा उपमहानगरपालिकाको ढाडलगायतको कार्यालयमा आगजनी गरेका छन् ।

यस्तै लोकसेवा आयोगको कार्यालय, यातायात सेवा कार्यालय, जिल्ला अदालत मकवानपुर, अख्तियार दुरुपयोग आयोग हेटौँडा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालयमा आगजनी भएको छ ।

प्रदर्शनकारीहरूले हेटौँडा उपमहानगरपालिका–२ स्थित भाटभटेनी सपिङ कम्प्लेक्स, हेटौँडा उपमहानगरपालिका–५ स्थित बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर, कार्यालय, हेटौँडा–४ स्थित नेकपा एमालेका नेता एकालाल श्रेष्ठको घर, हेटौँडा–५ स्थित अजयराज सुमार्गीको घरमा समेत आगजनी गरेका छन् । त्यस्तै जेनजी आन्दोलनकारीहरूले मकवानपुरको मनहरी गाउँपालिका कार्यालय र बकैयाँ गाउँपालिका कार्यालयमा तोडफोड गरेका छन् ।

आगजनीबाट कार्यालय, फर्निचर र सवारीसाधन जलेर क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सम्बन्धित समाचार