वैधानिक प्रक्रियामार्फत नयाँ सरकार गठन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै संवैधानिक प्रावधानअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले बिहीबार प्रेस विज्ञप्ति जारी गरी ‘जेनजी’को आन्दोलनपछि प्रधानमन्त्रीले दिनुभएको राजीनामा स्वीकृत भइसकेको र संविधानबमोजिम गठित राष्ट्रपति एवं जननिर्वाचिन संस्थाहरू कायमै रहेको अवस्थामा आन्दोलनरत पक्षको माग र चाहनालाई समेत अभिव्यक्त गर्नेगरी संविधानिक व्यवस्थाबमोजिम मुलुकलाई राजनीतिक निकास दिनुपर्नेमा जोड दिनुभएको हो ।

प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रपतिले स्वीकृत गरेपछिको अवस्थामा सरकार काम चलाउ छ, तर हामीसँग मुलुकको संविधान बमोजिम गठित राष्ट्रपति र जननिर्वाचित संसद जस्ता संस्थाहरू कायम नै छन्। त्यसकारण, अहिलेको अवस्थामा राष्ट्रपति, प्रतिनिधिसभाका सभामुखको समन्वयका आधारमा वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रिपरिषद गठन प्रक्रिया अगाडि बढाउनु पर्दछ’ भण्डारीले विज्ञप्तिमा भन्नुभएको छ ।

उहाँले ‘जेनजी’ आन्दोलनमा भएको मानवीय क्षति र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै आन्दोलनका क्रममा के कसरी हिंसात्मक गतिविधि भए भन्ने समीक्षा गर्न पनि आग्रह गर्नुभएको छ ।

सम्बन्धित समाचार