नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ भदौ ।


इतिहासका हरेक युग परिवर्तनको संवाहक र नेतृत्व गर्दै आएको नेपाली कांग्रेसका सबै तहका साथीहरूले आजको विषम परिस्थितिलाई गम्भीर विश्लेषण र निर्मम समीक्षासहित हेर्नुपर्ने बेला आएको छ। पार्टीका विकृति हटाउँदै व्यक्ति होइन विचार, शक्ति होइन सत्य, नेता होइन नीति र विधि लाई केन्द्रमा राखेर लोकतन्त्र माथि आएको संकटपूर्ण चुनौतीलाई सम्बोधन गर्नु अपरिहार्य छ।
यस राष्ट्रिय संकटमा सबै विवादलाई पन्छाएर नेपाली कांग्रेसका सम्पूर्ण साथीहरूले तन, मन, वचन र कर्मले एकताबद्ध भई सबै दल र पक्षहरूसँग मिलेर सामाजिक एकता, शान्ति र सद्भाव निर्माणका साथै जन–सरोकारका विषयमा सक्रिय हुनुपर्ने आवश्यकता देखिन्छ।
हामी आफ्नै गल्ती, कमजोरी, त्रुटि र अहंकारलाई समयमा नबुझ्दा चिप्लिएका छौं। तर अझै पनि सक्षम र जीवित छौं। त्यसैले गल्ती स्वीकार गर्दै सुधार्न गम्भीर विश्लेषण, निर्मम समीक्षा र सिंहावलोकन अपरिहार्य छ।
आजको मूल प्रश्न अब के गर्ने ? भन्ने हो। सत्ता कसले लिन्छ वा पद–प्रतिष्ठा कसलाई आउँछ भन्ने होइन। लोकतन्त्र नै जनताको शाश्वत जीवनशैली भइसकेको छ, त्यसलाई सम्मानपूर्वक जोगाएर निकास दिने बाटो खोज्नु नै सबै राजनीतिक दल, राष्ट्रपति र सम्पूर्ण पक्षहरूको पहिलो कर्तव्य हो।
देश अभूतपूर्व संकटमा छ। परिस्थिति जटिल छ। सचेततापूर्वक कदम चालिएन भने देश गम्भीर दुर्घटनामा फस्न सक्छ, अस्मितामै चुनौती आउन सक्छ। त्यसैले संविधानकै मार्गभित्र रहेर मात्र निकास सम्भव छ। संविधान फगत एउटा कागज होइन, जनताको आस्था र भविष्य हो। यसलाई च्यातेर वा लोकतन्त्र कुल्चेर गरिएको खोजी अर्को द्वन्द्व निम्त्याउनेछ।
अब समय छँदै सोच्नुपर्छ। स्वार्थविहीन संकल्पका साथ नेपाली कांग्रेसले सदैव जटिल परिस्थिति समाधान गर्ने आफ्नो ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्छ। ढिलाइ नगरी संस्थागत निर्णयमा पुग्नुपर्छ। टालटुले वा लिपापोती होइन, स्पष्ट अवधारणा र समयको मागअनुसार ठोस कदम चाल्नुपर्छ।
पार्टीभित्रको सम्पूर्ण एकता आजको अनिवार्य आवश्यकता हो।

