सामाखुसीमा नेपाली कांग्रेसद्वारा लोकतन्त्र रक्षार्थ शान्तिपूर्ण र्‍याली सम्पन्न

नेपाली कांग्रेसले लोकतन्त्र रक्षाका लागि आज बिहान सामाखुसी चोकबाट शान्तिपूर्ण र्‍याली सम्पन्न गरेको छ। “संवैधानिक सर्वोच्चताको कायम गरौं, राष्ट्रपतिलाई सार्वजनिक गरौं, जेन–जीको भ्रष्टाचार नियन्त्रणसहितका उचित माग पूरा गरौं, सबै समस्याको समाधान वर्तमान संविधानबाटै खोजौं” भन्ने नारासहित र्‍याली गोंगबु चोक हुँदै गणेशस्थान परिक्रमा गरेर पुनः सामाखुसी चोकमा फर्किएको थियो।

कार्यक्रममा संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसीले सम्बोधन गर्दै लोकतन्त्रविरुद्ध अराजक समूहद्वारा गरिएका हिंसात्मक गतिविधि र सरकारी संरचनामा आक्रमणको घोर भर्त्सना गर्नुभयो ।



उहाँले मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्दै राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन लगायतमा आगजनी र तोडफोड गर्नु अक्षम्य भएको टिप्पणी गर्नुभयो। साथै, कांग्रेस सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणको पनि कडा शब्दमा निन्दा गर्दै, पार्टीलाई अफ्ट्यारो पर्दा नेताकर्मी चुप लागेर बस्न नहुने स्पष्ट पार्नुभयो।

नेता केसीले आवश्यक परे २०६२–६३ सालको जस्तै लोकतन्त्रका लागि फेरि आन्दोलन गर्न कांग्रेस तयार रहेको बताउँदै सभापति देउवाको स्वास्थ्य लाभको कामना गर्नुभयो।

कार्यक्रमको संयोजन तरुण दलका केन्द्रीय सदस्य निरञ्जन थापा र नेविसंघका केन्द्रीय सदस्य विजय ढुङ्गानाले गरेका थिए। कार्यक्रममा महासमिति सदस्य शुशील भट्ट, सानुकाजी प्रजापति, कृष्ण कुइँकेल, जयराम दाहाल, नगर सभापति, पालिका अध्यक्षहरू लगायत विभिन्न तहका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार