चोरी तथा लुटिएका सुनचाँदी बजारमा आउनसक्छ, विशेष सतर्कता अपनाउनुहोस्

सुनचाँदी व्यवसायीहरूको छाता संस्था नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले जेनजी आन्दोलनका क्रममा चोरी भएका तथा लुटिएका सुनचाँदी बेच्न आउनसक्ने भन्दै विशेष सतर्कता अपनाउन व्यवसायीलाई आग्रह गरेको छ ।

महासङ्घका महासचिव निरबहादुर विश्वकर्माले मंगलबार एक विज्ञप्ति जारी गरी आन्दोलनका क्रममा लुटपाट भएका सुनचाँदी बिक्रीका लागि पसलमा आउनसक्ने भन्दै विशेष सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो ।

महासङ्घले आन्दोलनका क्रममा ऐतिहासिक सम्पदा, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालयदेखि निजी सम्पत्तिसम्ममा ठूलो क्षति पुगेको उल्लेख गर्दै कैयौँ कैदीबन्दी फरार भएको र लुटपाटका घटना भइरहेकाले व्यवसायीले सावधानीपूर्वक कारोबार सबैलाई आग्रह गरेको हो ।

महासचिव विश्वकर्माले चोरी वा लुटपाट भएका सुनचाँदीसमेत बजारमा आउन सक्ने सम्भावना उच्च भएकाले कुनै पनि कारोबार गर्दा ग्राहकको प्रमाणित परिचयपत्र र आवश्यक कागजात अनिवार्य रूपमा जाँच गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

त्यस्तै, बहुमूल्य गरगहनाको सुरक्षाका लागि सिसी टिभी, अर्लाम वा अन्य उपकरणको व्यवस्था मिलाउन, भीडभाडलाई नियन्त्रणमा राख्न, अपरिचित व्यक्तिलाई सजिलै पसल वा घरमा प्रवेश नदिन र कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरी वा सुरक्षाकर्मीलाई जानकारी गराउन महासङ्घले व्यवसायीलाई भनेको छ ।

महासङ्घले आगामी चाडपर्वलाई ध्यानमा राख्दै व्यवसाय सुरक्षित सञ्चालन गर्न स्थानीय सरकार तथा नजिकको प्रहरीसँग निरन्तर समन्वयमा रहन व्यवसायीलाई आग्रह गरेको छ । महासङ्घले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

सम्बन्धित समाचार