नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असोज ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका-४ स्थित सडकमा हाल नम्बर नखुलेको सिटी सफारीमा प्रदेश १-०१-०१५ प २१९७ नम्बरको स्कुटर ठक्कर खाई शनिबार बेलुकी दुर्घटना हुँदा स्कुटर चालक सुन्दरहरैँचा नगरपालिका-४ बस्ने सर्लाही घर भएका ३० वर्षीय प्रदिप बहादुर भण्डारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सिटी सफारी चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै ललितपुरको गोदावरी नगरपालिका-१२ ठेचोस्थित सडकमा बा.३ क २८४५ नम्बरको ट्याङकरले बाग्मती प्रदेश ०२-०५९ प ६३८२ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुर ठेचो बस्ने कैलाली घर भएका ४८ वर्षीय कमल सिंह ठकुरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै महोत्तरीको रामगोपालपुर नगरपालिका-३ बर्दिबासस्थित सडकमा प्रदेश २-०२-००१ त २४४ नम्बरको ट्याक्टरले प्रदेश २-०२-००५ प ५७९३ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ दोलाठ्ठी बस्ने २६ वर्षीय मनोज कुमार मण्डलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

