सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका-१ स्थित सडकमा प्र.२-०२-००५ प ६४५० नम्बरको मोटरसइकल र ज. ११ प ४१५३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा ज.११ प ४१५३ नम्बरको मोटरसाइकल चालक हंसपुर नगरपालिका-९ बस्ने २० वर्षीय उदय रायको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्र.२-०२- ००५ प ६४५० नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ गोदार चोकस्थित सडकमा प्र.२- ०१-००१ ख ०२६५ नम्बरको बस र प्र.२-०२-००५ प ५७११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मिथिला नगरपालिका-८ जमुनिबास बस्ने ३० वर्षीय बैजु यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको फुल कुमारी मेमोरियल अस्पताल कर्जनाहा सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सुनसरीको धरान उपमहानगरपालिका-८ स्थित सडकमा प्र.१-०२-००२ ख०६९७ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूषको सोमबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार