गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा दरबारको दशैंघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।

बडादशैंअन्तर्गत फूलपातीका दिन आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिनुभयो ।

बा २ झ ३८८२ नं को सरकारी गाडीमार्फत राखेर हनुमान ढोका दरबारका लागि फूलपाती पठाइएको उहाँको भनाइ छ । गोरखा दरबारको दशैंघरबाट दरबारका सुसारेहरूले फूलपातीसहितको डोली बोेकेर ल्याई गाडीमा राखेर पठाएका हुन् ।

गोरखा दरबारको दशैंघरबाट बाजागाजासहितको र्याली निकालेर फूलपातीको बिदाइ गरिएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

“गोरखाबाट पठाइएको फूलपाती हनुमान ढोका दरबारमा पुर्याएपछि आजै साँझ हर्षबढाइका साथ हनुमान ढोका दरबारमा भित्र्याउने प्रचलन छ”, उहाँले भन्नुभयो ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमा हनुमान ढोका दरबारबाट राजकाज सुरु गरेपछि हरेक वर्ष बडादशैंको सातौँ दिन गोरखा दरबारको दशैंघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमान ढोका दरबारमा लगेर भित्र्याउने गरिएको छ ।

जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरलगायतले गोरखा दरबारको फूलपातीको विदाई गरेर हनुमान ढोका दरबार पठाउनुभएको हो ।

गोरखा दरबारको दशैंघरमा पनि आज साँझ हर्ष बढाइका साथ फूलपाती भित्र्याइन्छ ।

सम्बन्धित समाचार