नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ असोज ।


युनिटी कप टी ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित भएको छ ।
संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल १० विकेटले पराजित भएको हो । तीन खेलको उक्त सिरिजमा वेस्ट इण्डिजको यो पहिलो जित हो ।
सिरिजको तेस्रो खेलमा पराजित भए पनि नेपालले यस सिरिजको उपाधि भने जितेको छ । यसअघि लगातार दुई खेलमा जितेकाले नेपालले वेस्ट इण्डिजलाई २–१ ले पराजित गरेको हो । नेपालले पहिलो खेलमा वेष्ट इण्डिजलाई १९ रन र दोस्रो खेलमा ९० रनले पराजित गरेको थियो ।
मंगलबार जितको लागि १२३ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले १२ दशमलव दुई ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो। वेस्ट इण्डिजको जितमा ओपनर अमिर जाङ्गुले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४५ बलमा अविजित ७४ रन बनाएका हुन् । यस्तै, अकिम अगस्टेले अविजित ४१ रन बनाए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर एक सय २२ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए भने कप्तान रोहित पौडेलले १७ रन जोडे । त्यस्तै सन्दीप जोराले १४ रन जोड्दा कुशल मल्लले १२ रन बनाए ।
वेस्ट इण्डिजका लागि रामोन सिमोन्ड्सले चार विकेट लिए नहने जेदिया ब्लेड्सले दुई विकेट लिँदा जेसन होल्डर र कप्तान अकिल होसेनको भागमा समान एक-एक विकेट रह्यो ।
