नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असोज ।


नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता आनन्द पोखरेलले व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन र साझा मानवीय मूल्यको माध्यमबाट एसिया क्षेत्रलाई सम्पन्न, शान्त र एकताबद्ध बनाउन सकिने बताउनुभएको छ ।
माल्दिभ्सको मालेमा आयोजित ‘दोस्रो मानव समरसता सम्मेलन तथा पुरस्कार समारोह’लाई शनिबार सम्बोधन गर्दै नेता पोखरेलले यो अभियानले व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन र साझा मानवीय मूल्यको माध्यमबाट यस क्षेत्रका देशलाई जोड्ने उल्लेख गर्नुभयो ।
उहाँले विश्व तीव्रगतिमा परिवर्तन भइरहेको र नयाँ प्रविधि, विश्वव्यापी चुनौती तथा पारस्परिक निर्भरता बढ्दो क्रममा रहेको उल्लेख गर्दै यस्तो समयमा यो अभियान दिगो विकासको आधार भएको धारणा व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
“नेपाल हिमालयको देश र शान्तिका दूत भगवान् बुद्धको जन्मभूमि हो, हामी सधैँ शान्ति, सहिष्णुता र सहकार्यमा विश्वास गर्छौँ । समरसता सांस्कृतिक र आध्यात्मिक पहिचान यस क्षेत्रको अभिन्न अङ्ग भएकाले सहअस्तित्वको भावना प्रत्येक एसियाली राष्ट्रले महसुस गर्न सक्छन”, नेता पोखरेलले भन्नुभयो ।
सहकार्यको संस्कृतिले व्यापार, सम्पर्क र सांस्कृतिक आदानप्रदानमार्फत समृद्धि आउने धारणा व्यक्त गर्दै उहाँले सबैले राजनीतिक विभाजनभन्दा माथि उठ्नुपर्ने तथा जनतालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
शान्ति र समझदारीका लागि प्रतिबद्ध व्यक्ति, संस्था र सरकारलाई जोड्ने स्थायी मञ्चका रूपमा मानव समरसता सञ्जाल स्थापना गर्नुपर्नेमा उहाँको जोड थियो ।
