सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-११ कपन पैयुटारस्थित सडकमा बा.८१ प ७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक काठमाडौं कपन बस्ने सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका-१ घर भएका २५ वर्षीय पासाङ निङमा शेर्पाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसि अस्पताल सिनामंगलमा थप उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै खोटाङको खोटेहाङ गाउँपालिका-४ रोक्सिङस्थित सडकमा प्र.१-०२-०४१ प ९९२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-६ बस्ने २६ वर्षीय प्रदिप बस्नेतको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै मोरङको बिराटनगर महानगरपालिका-१४ स्थित सडकमा को.२९ प ८७२६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-१३ बस्ने ३० वर्षीय पूर्ण गुरूङको शनिबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जास्थित सडकमा ग. ३ च ९८१६ नम्बरको स्कार्पियोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय आश बहादुर विकको शनिबार बेलुकी मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार