नवकान्तिपुर संवाददाता
नारायणगढ (चितवन), ५ कार्तिक ।


नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि चितवन राइनोजले तीन जना विदेशी खेलाडी अनुबन्ध गरेको छ ।
पहिलो संस्करणमा समेत खेलेका पाकिस्तानका सोहेल तन्विर र इंग्ल्यान्डका अलराउन्डर रवी बोपारासँगै इंग्ल्यान्डकै ब्याटर डेविड मलान यस संस्करणमा चितवन राइनोजबाट खेल्ने भएका हुन् ।
राइनोजले मंगलबार चितवनमा आयोजित ट्रफी टुर कार्यक्रममा तीन विदेशी खेलाडी अनुबन्ध भएको घोषणा गरेको चितवन राइनोजका निर्देशक प्रताप देवकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार नारायणगढस्थित क्याम्पाचौरम भएको ट्रफी टुरमा समर्थकको उपस्थितिमा एनपिएलको ट्रफी सार्वजनिक गरिएको थियो । सो अवसरमा ‘फेस अफ द राइनोज’ पनि घोषणा गरिएको थियो ।
जसमा राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा, नायिका नीति शाह र चितवन महिला क्रिकेट टिमकी कप्तान हेलिशा गुरुङ चितवन राइनोजका ब्राण्ड एम्बेसडरको रूपमा रहने छन् । निर्देशक देवकोटाका अनुसार थप तीन विदेशी खेलाडी छिट्टै सार्वजनिक गरिनेछ ।
एनपिएलको दोस्रो संस्करण आगामी मङ्सिर १ गतेदेखि सुरु हुँदैछ ।
